नेपालमा कोरोना महामारी भारतमा जत्तिकै भयावह

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले नेपाल अहिले आक्रान्त बनिरहेको छ । नेपालमा पछिल्ला दिनमा करिब ९ हजारको हाराहारीमा दैनिक संक्रमित थपिएका छन्।

पछिल्ला केही दिनमा मृत्यु हुनेको संख्या ५० भन्दा माथि छ । छिमेकी मुलुक भारतमा दैनिक ४ लाख भन्दा धेरै संक्रमित थपिँदा दैनिक ४ हजार धेरैले कोरोनाबाट ज्यान गुमाइरहेको तथ्य सार्वजनिक भइरहेको छ ।

भारतमा थपिएका संक्रमितको संख्या र मृत्यु हुनेको संख्या हेरेर नेपालीहरु धन्न नेपालमा त त्यो अवस्था भएको छैन भनिरहेको पाइन्छ । नेपालमा ३ करोड हाराहारी जनसंख्या रहँदा भारतमा करिब १ अर्ब ३० करोड जनसंख्या छ । नेपालको भन्दा भारतको जनसंख्याको आकार करिब साढे ४३ गुणा धेरै छ।

तसर्थ जनसंख्याको आधारमा अहिले नेपाल र भारतमा देखिएको संक्रमणको अवस्था समान अझ नेपालको खराब तथ्यांक देखाउँछ ।

पछिल्लो एक सातामा भारत र नेपालमा देखिएको संक्रमण पुष्टि हुनेको संख्या, मृत्युदर, परीक्षणमा पोजेटिभ रिपोर्ट आउनेको दर, संक्रमण फैलिएको दर हेर्दा नेपालमा कोरोना महामारीको अवस्था भारतको सरह र त्यो भन्दा पनि जटिल देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङ धुलिखेल अस्पतालका चिकित्सक डा।विराजमान कर्माचार्यले दुई देशको एकसाताको तथ्यांकलाई तुलना गरी रिपोर्ट प्रस्तुत गरेका छन् ।

डा। कर्माचार्यले प्रस्तुत गरेको रिपोर्ट अनुसार प्रति १० लाखमा हिसाब गर्दा थपिएका संक्रमितको दर र कोरोनाबाट हुने मृत्युदर भारतमा भन्दा नेपालमा केही कम देखिएको छ । तर कुल परीक्षणमा पोजेटिभ रिपोर्ट देखिने दर र संक्रमित व्यक्तिले कोरोना भाइरस फैलाउने दर नेपालमा भारतमा भन्दा करिब २ गुणाले बढी रहेको देखिन्छ ।

अघिल्लो साताको तुलनामा नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९०।४ प्रतिशतले बढेको डा। कर्माचार्यले बताएका छन् ।

दैनिक थपिने संक्रमितमा नेपाल र भारतको स्थिति

पछिल्लो हप्ता दैनिक थपिने संक्रमितहरुको तथ्यलाई हेर्दा प्रति १० लाखमा नेपाल भारतको संख्या करिब करिब बराबर देखिन्छ । भारतमा प्रति १० लाखमा करिब २८३ जना संक्रमित थपिँदा नेपालमा प्रति १० लाख जनसंख्यामा २७९ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा भन्दा नेपालमा संक्रमणको दोस्रो लहर करिब एक महिना पछि आएकाले यो तथ्यांकमा नेपाल भारतको हाराहारी पुग्ने अनुमान डा। कर्माचार्यले गरेका छन् ।

कोरोनाबाट मृत्यु हुनेमा नेपाल र भारतको स्थिति

कोरोना संक्रमणबाट मृत्यु हुनेमा भने नेपालको दर भारतको भन्दा केही कम देखिन्छ । पछिल्लो साता प्रति १० लाखमा कोरोनाबाट मृत्यु हुने संख्या भारमा २।८ जना देखिएको छ । नेपालमा यो संख्या १।६ जना मात्रै छ ।

भारत भन्दा नेपालका दोस्रो लहर पछि आएकाले नेपालमा आगामी दिनमा मृत्युदर बढ्न सक्ने अनुमान डा। कर्माचार्यको छ । नेपालका संक्रमणले रफ्तार लिन थालेको करिब २ साता मात्रै भएकाले मृत्युको दर अझै केही हप्ता बढ्ने दावी उनले गरेका छन् ।

पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आउने दर: नेपाल र भारतमा

पिसिआर परीक्षण गरिएकामा पोजेटिभ रिपोर्ट देखिनेमा नेपाल भारत भन्दा निकै माथि देखिएको छ । पछिल्ला दिनमा भएका परीक्षणमा नेपालमा कुल परीक्षणको करिब ४२ प्रतिशतलाई कोरोना संक्रमण देखिएकोमा भारतमा त्यो दर २२ प्रतिशत छ ।

यो तथ्यांक हेर्दा नेपालमा भारतको तुलनामा परीक्षण निकै कम भइरहेको र समुदायमा ठूलो संख्यामा संक्रमितहरु रहेको डा।कर्माचार्यले बताए ।

संक्रमण फैलने दरमा नेपाल र भारत

नेपालमा कोभिड–१९ फैलने दर पनि भारतको भन्दा धेरै देखिएको छ । पछिल्ला तथ्यांक अनुसार भारतमा एक संक्रमितले अन्यलाई कोभिड–१९ सार्ने दर १.८प्रतिशत रहँदा भारतमा एक संक्रमितले सार्ने दर १।२ मात्रै रहेको देखिन्छ ।

यो हेर्दा कोरोना फैलने दर नेपालमा भारतमा भन्दा करिब दुई गुणा देखिएको छ । नेपालमा संक्रमण तीब्र गतिमा फैलिइरहेको छ ।

काठमाडौं वरिपरिका जिल्लाहरुमा आगामी हप्ता संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने आँकलन डा। कर्माचार्यले गरेका छन् । साथै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेपछि उपत्यका छाडेर विभिन्न जिल्लामा गएका हरुबाट पनि संक्रमण फैलने आँकलन गरिएको छ ।

जोखिमयुक्त क्षेत्रमा व्यापक परीक्षण गर्नुपर्ने, जोखिमयुक्त पेशा, व्यवसाय गर्नेको नियमित परीक्षण गर्ने र परीक्षणलाई बढाउन परीक्षणको शुल्कलाई घटाउन डा. कर्माचार्यले आग्रह गरेका छ। फरकधारवाट