इटहरीमा टोल–टोलमै पुगेर कोरोना परिक्षण

इटहरी- उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । नगरबासीको सहजताका लागि टोलमै पुगेर घर–घरबाट बोलाउँदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

अहिलेसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्बरका समुदायमै पुगेर परीक्षण गरिएको उनले बताइन् । एउटै टोलमा धेरै जना बिरामी भएको जानकारी पाउनासाथ उपमहानगरको स्वास्थ्य टोलीले समुदायमै पुगेर परीक्षण गर्न थालेको हो ।

परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरूलाई औषधिसमेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्बर दिएर फोन गर्न आग्रह गरिन्छ । समूदायमा कोरोना सङ्क्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ ।

यसैगरी इटहरी रङ्गशालामा उपमहानगरले बिहान ८ वजेदेखि १० बजेसम्म निःशुल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय बढीको स्वाव सङ्कलन गरेर परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शुल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निःशुल्क परीक्षण गरिरहेको हो ।

‘अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ’, स्वास्थ्य शाखाकी पूजा भट्टराईले भनिन्, ‘हिजो स्वाव सङ्कलन गरेकै दिन रिर्पोट आयो । ढिलो हुँदा पनि भोलिपल्ट त आँउछ ।’ प्रदेश ल्यावमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।

इटहरी उपमहानगर स्वास्थ्य शाखाले सङ्क्रमितहरूलाई फोन गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख चौधरी र उपप्रमुख गौतम स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितहरूको घर–घरमै समेत पुग्ने गरेका छन् ।