पोर्चुगललाई स्तव्ध पार्दै बेल्जियम क्वाटरफाइनलमा

एजेन्सी – साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै राउन्ड अफ १६ पार गर्न सफल भयो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । यस जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँगको भेट पक्का गरेको छ ।

छैटौं मिनेटमा नै डिओगो जोटाले गोल गर्ने अवसर खेर फालेका थिए । रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पासलाई जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दशौं मिनेटमा बेल्जियन कप्तान इडेन हाजार्डको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३७ औं मिनेटमा मुनिएरले आउटसाइड फुटले गरेको प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए । थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट नै गरेको प्रयासमा गोलरक्षक रुइ प्याट्रीसिओको डाइभ खेर गएको थियो ।

दोस्रो हाफको सुरुवातमा नै बेल्जियमले चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिर निकालेको थियो । पोर्चुगलले दोस्रो हाफको सुरुवातमा केहि अवसर सिर्जना गरेपनि खेल बराबरीमा ल्याउन भने सकेन । ५४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए । त्यसको केहीबेरमा नै जोटाको प्रहार क्रसबारभन्दा केहि माथिबाट बाहिरियो ।

६१ औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाको हातमा पुगेको थियो । लगत्तै ब्रुनो फर्नान्डेसको प्रहार आकासियो । अर्कोतर्फ लुकाकुले हाजार्ड दाजुभाईको उत्कृष्ट मुभपछि बनेको आक्रमणलाई फिनिस गर्न सकेनन् । पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स चिर्न भने असफल रहयो ।

८२ औं मिनेटमा रुबेन डियासको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाए । त्यसको एक मिनेटपछि नै राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्न पुग्यो ।

८६ औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो । अर्कोतर्फ यानिक करासकोले काउन्टर अट्याक अघि बढाएपनि गोलमा प्रहार नगर्दा बेल्जियम अग्रता दोब्बर गर्नबाट चुक्यो । इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिर जाँदा पोर्चुगलको आशा समाप्त भएको थियो ।

यसअघि दिनको पहिलो खेलमा चेक रिपब्लिकले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २(० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।

पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टको साथ गुमाएको थियो । डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । अब चेकले सेमिफाइनल प्रवेशका निम्ति डेनमार्कसँग खेल्नेछ ।

खेलको आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन नसकेपछि उक्त बलमा मेम्फिस डिपाएले गरेको प्रहार बाहिरियो । १६ औं मिनेटमा डोनी मालेनको प्रहारलाई गोलरक्षक टोमस भाच्लिकले बचाउँदै कर्नर दिएका थिए । जवाफी कर्नरमा पनि उनी नै बाधक बने ।

२२ औं मिनेटमा कप्तान टोमस सुचेकको हेडर थोरैले बाहिरिंदा चेकले अग्रता लिन सकेन । दायाँ विंगबाट सेभ्चिकले गरेको क्रसमा सुचेकको डाइभिङ हेडरमा गोलरक्षक बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २८ औं मिनेटमा प्याट्रिक सिकको प्रहार डे रुनलाई लाग्दै गोलरक्षक मार्टेन स्टेकेलेनबर्गले सहजै बचाए ।

३८ औं मिनेटमा चेकले अघि बढ्ने सुवर्ण अवसर खेर फाल्यो । एन्टोनिन बाराकले पेनाल्टी क्षेत्र भित्रबाट पोस्टमा प्रहार डिफेन्डर डी लिग्टले छेक्दा खेल गोलरहित नै रहयो । काउन्टर अट्याकमा राम्रो मुभ बनाएको चेकका लागि मासोपुस्तको पासमा बाराक गोल गर्न चुकेका थिए । लगत्तै अर्कोतर्फ डम्फ्राइजको लो क्रसमा मालेन बलसम्म पुग्न सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै डच टोलीले दुई अवसर गुमायो । डम्फ्राइजको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका मालेनले बलसम्म पुग्न सकेनन् । त्यसको केहि मिनेटमा नै डिपाएको चलाखीपूर्ण फ्लिकमा मालेनले दुई डिफेन्डरलाई बिट गरेपछि वन भर्सेस वनमा गोलरक्षक भाच्लिकलाई झुक्याउन असफल रहे ।

५५ औं मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सिमित भयो। टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले लडेपछि सिकलाई पेनाल्टी क्षेत्रभित्र बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

६५ औं मिनेटमा डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित राखे । कादेर्बेकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई उनले पोस्टतर्फ जानबाट रोकेका थिए ।

६८ औं मिनेटमा चेकले टोमस होलेसको गोलमा अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत सहजै गोल गर्दै अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई सिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल नजिक पुर्याएका थिए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल पनि थियो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।