भोजपुरमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, ७८१ निको भए

भोजपुर, २० असार- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । आज ११ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार १० पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ३४ सय ८९ जनाको परिक्षण गरिएकोमा ९ सय ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै साल्पा सिलिंछो गाउँपालिकामा १ सय ७२ जना कोरोना संक्रमित देखिएकाछन् । भोजपुरको भोजपुर नगरपालिकामा १६४, षडानन्द नगरपालिकामा ८९, हतुवागढीमा १५५, आमचोकमा ४३, पौवादुम्मामा २१, अरुणमा १३०, राम प्रसाद राईमा १४५ र टेम्के मैयुंगमा ९१ जना संक्रमित भएकाछन् ।

भोजपुरमा १ सय ९३ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत् रहेकाछन् । जिल्ला वाहिर ३१ जनालाई उपचारको लागि पठाईएको छ । जिल्लामा संस्थागत आईसोलेसनमा १६ जना र १९३ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुरमा कोभिडवाट ८ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म ७ सय ८१ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।कोरोना संक्रमण मुक्त हुनेमा षडानन्द नगरपालिकामा ८६ जना, भोजपुरमा १०४, आमचोकमा ४३, साल्पा सिलिंछोमा १०२, टेम्के मैयुंगमा ६४ ,पौवादुम्मामा १६, राम प्रसाद राईमा १४० र हतुवागढी गाउँपालिकामा १०८ जना कोरोना मुक्त भएका छन् । अरुण गाउँपालिकामा १३० जनामा संक्रमण भएकोमा सवै संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।