कांग्रेसको पार्टी कार्यालय बनाउन एमाले नेताले गरे तीन लाख सहयोग

नेपाली कांग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको लागि नेकपा एमालेका नेता रत्न गौतमले तीन लाख रुपैयाँ सहयोग गरेका छन् । खानी निर्माण सेवाका अध्यक्ष समेत रहेका नेता गौतमले रामेछापको मन्थलीमा निर्माणाधिन कांग्रेसको पार्टी कार्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस रामेछापको आग्रहमा आफूले तीन लाख रुपैयाँ सहयोग गरेको गौतमले बताए । उनले राजनीतिक रुपमा पार्टी फरक भएपनि सहयोग मागेको कारण आफूले सकेको सहयोग गरेको बताए ।
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बिपी स्मृति भवन निर्माणको लागि सहयोग जुटाउने क्रममा नेता गौतमबाट तीन लाख सहयोग प्राप्त भएको बताए । उनले भने,‘हामीले सबैसँग सहयोगको आग्रह गरेका छौ, सहयोग जुटने क्रम पनि भइरहेको छ ।’

न्यौपानेका अनुसार हालसम्म पार्टी कार्यालयको ७५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कामको लागि आर्थिक र निर्माण सामाग्री सहयोग हुने क्रम जारी छ ।