ब्राजिललाई ओलम्पिक फुटबलमा स्वर्ण

एजेन्सी-टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिल पदक रक्षा गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसअघि ब्राजिलले निर्धारित ९० मिनेटमा आक्रामक खेल प्रस्तुत गर्दै अग्रता लिएपनि जित हासिल गर्न भने सकेको थिएन ।

खेलको ३८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टी चुकाउँदा ब्राजिल अग्रता लिनबाट चुकेको थियो । उनले गरेको प्रहार पोस्टभन्दा निकै बाहिर गएपछि खेल बराबर नै रहयो । तर पहिलो हाफको इन्ज्युरी समयमा माथिअस कुन्हाले गोल गर्दै अग्रता दिलाए । दायाँ विंगबाट आएको क्रसलाई स्पेनका डिफेन्डरले क्लिअर गर्न नसक्दा कुन्हाले सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा मिकेल ओयाराज्बलले स्पेनलाई बराबरीमा ल्याए । उनले कार्लोस सोलेरको क्रसलाई ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा स्पेन अग्रता लिनबाट चुक्यो । टोटेनहमका नयाँ मिडफिल्डर ब्रायन गिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दा स्पेन स्वर्ण पदकबाट बन्चित बनेको थियो ।

अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कमले विजयी गोल गरे । एन्टोनीले दिएको थ्रु पासलाई उनले पेनाल्टी क्षेत्रबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । उनको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले हात लगाएपनि बाहिर पठाउन सकेनन् ।

यससँगै ब्राजिल ओलम्पिकमा लगातार स्वर्ण जित्ने दोस्रो राष्ट बनेको छ । यसअघि अर्जेन्टिनाले पनि ओलम्पिकमा लगातार दुई स्वर्ण जितेको थियो । सन् २००४ र २००८ मा अर्जेन्टिना स्वर्ण जित्न सफल भएको थियो ।