मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि एमालेको विकल्प छैनः ओली

संखुवासभा-पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि एमालेको विकल्प नभएको वताएकाछन् । आज संखुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता—कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गरे ।

उनले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेहरुलाई नवप्रवेशीहहरुलाई कहिल्यै पश्चाताप नहुने स्पष्ट पारे । “वामपन्थीको खोल ओढेर दक्षिणपन्थी खेमामा आफूलाई समाहित गर्ने नक्कली पार्टीहरुमा अब कोही पनि अल्मलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।”

ओलीले खाँदबारी—किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने जनाए । संखुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण—३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घघाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताए ।

जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताए । शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा संखुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उजिल्याउन एमाले नेतृत्वको सरकार बँन्नुपर्ने बताए । अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा—व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गरे ।

कार्यक्रममा समृद्धि र राष्ट्रियताका सन्दर्भमा विगतमा सरकारको नेतृत्वमा रहँदा मुलुक र जनताका लागि उल्लेखनीय कार्यको अगुवाइ गरेको जनाउँदै अध्यक्ष ओलीलाई अभिनन्दन गरिएको थियो ।

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानसभाबाट संविधान बनाउने अभियानको नेतृत्व अध्यक्ष ओलीले गरेको र त्यसपछि उहाँको नेतृत्वमा बनेको सरकारले भारतीय नाकाबन्दीका डटेर मुकाबिला गरेको स्मरण गराए । उनले गत स्थानीय तहको निर्वाचनमा प्रतिपक्षमा रहेर काँग्रेस र नेकपा (माओवादी केन्द्र) को तालमेलको मुकाबिला गरेको र आगामी निर्वाचनमा पनि एमाले एक्लैले जनताको साथ पाउने दाबी गरे । पूर्व अर्थमन्त्री पौडेलले खाँदबारी—किामाथाङ्का जोड्ने सडकका लागि प्राथमिकताका साथ बजेट निर्धारण गर्न तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई निर्देशन दिएको र आगामी दिनमा एमालेले एकपटक बहुमत पाएमा विकास र समृद्धिका कामले गति पाउने विश्वास दिलाए।

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइले अनेक जालझेल र तिकडमबाट एमाले नेतृत्वको सरकार ढालिएको र जनताको समृद्धिको चाहनामाथिको प्रहार भएकाले आगामी निर्वाचनमा त्यसको जवाफ फर्काइने उद्घोष गरे ।

एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद् राजेन्द्र गौतमले संखुवासभामा एमालेप्रतिको लहर नयाँ ढङ्गले बढेको बताए । कार्यक्रममा विभिन्न दलका तर्फबाट नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष अनन्त गौलीले अधिवेशन सफलताको कामना व्यक्त गरेका थिए ।

खाँदबारी नगरपालिका—१ स्थित टुँडिखेलमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र खाँदबारी—३ कृषि बजारमा हुने जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए ।