
दिङ्ला,२३ माघ- भोजपुरको षडानन्द नगरपालिका ७ कटहरे वितलवमा ॐ षडानन्द कर्मयोग आश्रमको उद्घाटन भएको छ । आज एक कार्यक्रमकाविच षडानन्द नगरपालिकाका प्रमुख विरवल राईले आश्रमको उद्घाटन गरेकाहुन् ।
आज आश्रमको उद्घाटनको अवसरमा शिवलिङ्ग स्थापना, रुद्रीपाठ र लामा पढाईएको थियो । पाँच दशक वढि देशका विभिन्न क्षेत्रमा कर्मथलो वनाएर गतबर्ष जन्मथालो फर्किएका ऋषिराज लुम्सालीले आफ्नै लगानीमा १ रोपनी १४ आना जग्गामा निर्माण गरेको आश्रम संस्थालाई हस्तान्तरण गर्नेपनि वताए । आश्रमलाई अन्तराष्ट्रिय मान्यता अनुरुप आवस्यक पर्ने मन्दिर, यक्षशाला, गौशाला, पाठशाला लगायतका पुर्वाधारको पनि निर्माण गरिएको उनले जानकारी दिए ।
संस्थाले कृषि, अनुसन्धान, प्रविधि, योग लगायतका क्षेत्रमा काम गर्ने अध्यक्ष ऋषिराज लुम्सालीले जानकारी दिए । संस्थाले भोजपुरमा षडानन्द र किराँत विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन उद्धेश्य राखेको छ । नेपालमा राणाकालमा सर्वसाधारणका छोराछोरीलाई शिक्षाको ज्योति छर्न विद्यालय स्थापना गर्ने बालागुरु षडानन्दको योगदानको कदर गर्दै षडानन्द विश्वविद्यालय र लामो समय यस क्षेत्रमा शासन गर्ने किरात जातीको सम्मान स्वरुप किराँत विश्वविद्यालय स्थापना गरिनुपर्ने उनको तर्क छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विरवल राई तथा विशेष अतिथि मेरिका राईले आश्रमलाई षडानन्द नगरपालिकाले सवै किसिमको सहयोग गर्ने जनाए । संस्था स्थापना भएकोमा खुशी प्रकट गर्दै षडानन्द नगरपालिकाले आश्रमको भौतिक तथा अन्य पुर्वाधारको लागि सदैव सहयोग गर्न प्रतिवद्ध रहेको नगर प्रमुख र उपप्रमुखले वताए ।
ॐ षडानन्द कर्मयोग आश्रमका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले आश्रम कुनै राजनीतिक उद्देश्यले स्थापना नभएको वताए । उनले आश्रमले विशुद्ध सामाजिक संस्था रहेको र समाजको हितमा कामगर्नेमा स्थानियलाई आश्वस्त पारे । कुरा भन्दा कर्म गर्न जोड दिनकोलागि आश्रमको नाममै कर्मयोग आश्रम राखिएको उनको तर्क छ ।