एमाले भोजपुरको बैठक सम्पन्न, विभाग देखि वडा सम्मका जिम्मेवारी तोकियो (सूचीसहित)

भोजपुर- नेकपा एमाले भोजपुरको नवनिर्वाचित जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । सांगठानिकसँगै चुनावकेन्द्रित विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकले यही फागुन १५ देखि एक महिना पार्टी निर्माण तथा संगठन शुद्धीकरण अभियान चलाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘जनताको घरमा एमाले’, ‘गाउँ फर्क’ र ‘पार्टी प्रवेश’ अभियान सञ्चालन गरिने भोजपुर एमालेले जनाएको छ ।

बैठकले जिल्लाको विकास र समृद्धिको गुरुयोजना तयार पार्ने निर्णय गरेको छ । त्यसमा जिल्ला अध्यक्षको संयोजकत्वमा सबै पदाधिकारी गाउँरनगर कमिटी र स्थानीय तहका प्रमुख उपप्रमुख छन् । विज्ञमा प्रकाश राई ‘सर्वहारा’, राजेश राई र बालकृष्ण दाहाललाई राखिएको छ ।

गुरुयोजना तयार पारेर त्यसैलाई एजेण्डा बनाइ तीनवटै तहको निर्वाचनमा जान्छौं’, अध्यक्ष राईले भने, ‘निर्वाचनपछि जनप्रतिनिधिले त्यही गुरुयोजनालाई आधार बनाएर काम गर्नेछन् ।

पार्टीको गाउँदेखि जिल्ला कमिटी र हरेक सदस्यको कार्यसम्पादन मूल्यांकन गरी वार्षिक पुरस्कृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले जिल्ला कमिटीमा मनोनयन, सचिवालय गठन, गाँउ नगर र वडा कमिटीहरूमा इन्चार्ज, इन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी दिएको छ ।

आइतबार र सोमबार बसेको बैठकमा प्रदेश १ का सहइन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जिल्ला इन्चार्ज हरिबहादुर राई, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज पर्शुराम अधिकारी, संविधानसभा सदस्य एवं पूर्वमन्त्री कृपाशुर शेर्पालगायतको उपस्थिति थियो ।