एमसीसी परियोजना मुलुकको हितमा छः मन्त्री कार्की

दिंला- सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना मुलुकको हितमा भएको दावि गरेकाछन् । विहिवार गृहनगर षडानन्द नगरपालिका ७ मा भारत सरकारको सहयोगमा निर्मित गान्धी मेमोरियल अस्पताल उद्घाटन गर्दै कार्कीले यस्तो दावी गरेका हुन् ।

मन्त्री कार्कीले एमसीसी परियोजना अन्तर्गत अहिलेको विनिमय दरमा अमेरिकाले ६० अरव र नेपाल सरकारले १३ अरव खर्च गर्ने जानकारी दिए । परियोजनावाट ३ सय १५ किलोमिटर ट्रान्समिसन लाईन र ७७ किमि अन्तराष्ट्रिीय स्तरको वाटो निर्माण हुने वताए । नेपालमा एमसीसीको विषयमा नचाहिँदो भ्रम छरिएकोमा दुखेसो गरे । एमसीसी भ्रमको आधारमा फिर्ता पठाएको भए मुलुकको राष्ट्रििय अर्थतन्त्रमा धेरै ठूलो र लामो समय सम्म नकरात्मक असर पर्ने वताए ।

संसदले करिव करिव सहमतिमा एमसीसी पास गरेर हाम्रो देशको समृद्धिमा कोषेढुङ्गाको काम गरेको र अर्को तर्फ अन्तराष्ट्रिीय जगतमा विश्वसनियता वढाएकामो मन्त्री कार्कीले खुशी प्रकट गरे । एमसीसीलाई संसदवाट पास गर्ने श्रेय वर्तमान प्रधान मन्त्रीलाई जाने पनि उनले वताए । एमसीसीको वारेमा अनेक किसिमका भ्रमहरु सिर्जना गर्न खोजिएको उनले वताए । उनले एमसीसीको विषयमा कुनै भ्रममा नपर्न आग्रह गरे । एमसीसी देशको गरिवि निवारण र पुर्वाधार विकासको क्षेत्रमा काम गर्ने भएकोले यसको लाभ पुरै देशले लिने पनि उनको दावि छ ।

मन्त्री कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिहरुको का साथै स्थानिय सवैसाधारणको वाक्लो उपस्थिति रहेको थियो ।

२ करोड २६ लाखको लागतमा निर्माण गरिएको यो अस्पताल भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । यस अस्पतालले स्थायि सर्व साधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वताईएको छ ।

१५ शै्याको क्षमता भएको यस अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतु प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले वताईन । उनले अस्पताललाई चाँडै एम्वुलेन्स समेत प्रदान गरिने वताईन् ।

कार्यक्रममा सहभागी स्थानिय स्तरका राजनीतिक दलका प्रतिनिधि तथा जन प्रतिनिधिहरुले अस्पतालमा आवस्यक सम्पूर्ण सामाग्री तथा जनशक्ति व्यवस्थापन गरिदिन मन्त्री कार्की सँग आग्रह गरेका थिए । कार्कीले जवाफमा सधैं मागेर मात्र नचल्ने प्रतिक्रिया दिँदै स्थानिय सरकारले अस्पतालको दिगो व्यवस्थापनको लागि योजना वनाएर अघि वढ्न सुझाए ।