कार्यकर्ता भएर एमालेमा आएँ, जिम्मेवारी दिए पछि हट्दिनँ: करिश्मा मानन्धर

काठमाडौँ- चर्चित अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताएकी छिन् । मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताईन् ।

केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी मानन्धरले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् । एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्, एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।

त्यस्तै एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताइन् । कलाकारिता क्षेत्रबाट पनि मुलुकका लागि आफूले थुप्रै योगदान गरेको उल्लेख गर्दै उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ । पार्टी प्रवेश गर्दा मैले कुनै सौदाबाजी होइन । मसँग कुनै पनि आग्रह पनि छैन, कुनै ठोस पनि माग छैन । मलाई कुनै पद चाहिएको छैन । नितान्त एउटा कार्यकर्ताका रूपमा हजुरहरूसँग जोडिन आएको छु । यदि मेरो मूल्यांकन गरेर पार्टीले कुनै जिम्मेवारी दिने हो भने म पछि हट्दिनँ है,उनले भनिन् । नयाँ मान्छे नजोडिकन पार्टी अगाडि नबढ्ने पनि उनले भनिन् ।