वडाको बजेटवाट महिलालाई ढाका बुनाई तालिम

दिंला,१२ चैत्र- भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ को २ लाख बजेटवाट ढाका बुनाइको दोस्रो तहको तालिम सम्पन्न भएको छ । “शिप सिकौं आत्म निर्भर वनौं” भन्ने मुल नाराका साथ जनचेतना अभियान नेपालको भवनमा आयोजना गरिएको एक महिने तालिम आज सम्पन्न भएको वडा सचिव उपेन्द्र भट्टले जानकारी दिए ।

तालिममा वडाको विभिन्न टोलका ६ जना महिलाको सहभागिता रहेको थियो । गत बर्ष पहिलो तहको ढाका बुनाई तालिम सम्पन्न गरेको वडाले यस बर्ष दोस्रो तहको तालिम सम्पन्न गरेको हो । तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य कुमार कटवालले प्रशिक्षार्थिहरुले सिकेका शिपलाई व्यवहारमा लागु गरि व्यवसायिक वन्न आग्रह गरे । तालिममा सहभागिले वडाले आयोजना गरेर निःशुल्क तालिम दिएकोमा खुशी व्यक्त गरेकाछन् । तालिममा सहभागि प्रशिक्षार्थि केशर कुमारी न्यौपानेले तालिममा सिकेका शिपलाई व्यावसायिक प्रयोजनमा लगाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले आउँदा दिनमा थप उच्च तहका तालिम समेत वडावाट दिनका लागि माग गरिन् । तालिमकी प्रशिक्षक लक्ष्मी लिम्वुले तालिम लिएका प्रशिक्षार्थीहरु संगठित भएर व्यावसायिक हिसावले लागे मात्र सिकेको शिप व्यवहारमा लागु गर्न सकिने सुझाव दिईन् । उनले ढाकाको माग उच्च रहेकोले शिप सिकेका प्रशिक्षार्थीहरुलाई जतिसक्दो उत्पादनमा लाग्न उत्साहित गरिन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष सुजन राईले वडाले आफ्नो कार्यकालमा महिला लक्षितका विभिन्न कार्यक्रम सञ्चालन गरेको दावी गरे । उनले महिला लक्षित स्वास्थ्य, लेखा, उद्घोषण, ढाका बुनाई, सिलाईकटाई तालिम,कृषि तालिम, कम्प्युटर शिक्षा लगायतका तालिम आयोजना गरिएको जानकारी दिए । शिप छैन भने उ भोको हुन्छ भन्ने भनाईलाई आत्मसात गदै शिप सिकाएर आत्म निर्भर वनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष  राईको तर्क छ ।