
दिंला,२२ चैत- २५ गतेदेखि ३० गतेसम्म टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । टाईफाईड रोग विरुद्ध खोप अभियान २०७८-०७९ अन्तर्गत अभियान सञ्चालन हुने षडानन्द नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।
कार्यालयले शनिबार सरोकारवालाहरुलाई अभिमुखीकरण गराउँदै अभियान बारे जानकारी गराएको हो । देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने भएपनि भोजपुरमा चैत २५ देखि ३० गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
अभियानमा जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई १ मात्रा खोप लगाइने छ । नियमित खोप मार्फत १५ महिनाको उमेरका सबै बालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले ले बताएका छन् ।
अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उपभोग दर बृद्धि गर्ने, अभियानको क्रममा २ बर्ष मुनिका बालबालिकाको नियमित खोपमा दादुरा–रुबेला खोपको दोश्रो मात्रा लगायत अन्य छुट खोपको पहिचान गर्ने, खोप अभियानपछि २ वर्ष मुनिका बालबालिकाहरूको छुट खोप प्र्रदान गरी पूर्ण खोप सुनिश्चितता र दिगोपनाको भएको यकिन गर्ने, नियमित खोप कार्यक्रम मार्पmत एकीकृत रुपमा सरसफाइ प्रवर्दन कार्यक्रम निरन्तर संचालन गर्ने उद्धेश्यले सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । अभियानमा १५ महिना देखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बिच बाहिरी भागमा र २ वर्ष देखि १५ वर्षका व्यक्तिलाई बाँया पाखुराको बीच बाहिरी भागमा खोप लगाइने छ ।
नियमित खोपमा १५ महिनामा दादुरा रुवेला दोस्रो मात्रा सँगै बांया तिघ्राको विच बाहिरी भागमा लगाइने छ । यो खोप वा अन्य खोप वा कुनै वस्तुबाट गम्भिर प्रकृतिको एलर्जिक प्रतिकृया (एनाफ इलेक्सिस) भएको, एच आईभी एड्स भएको अवस्था, हाल उच्च ज्वरो, सिकिस्त विरामी भएकोे अवस्था, गर्भवति महिला, स्तनपान गराई रहेका महिलालाई खोप लगाइने छैन ।
लक्षित संख्या मुख्यरुपमा करिव ८० प्रतिशत विद्यालयमा रहने भएकाले अभियान संस्थागत वा साुमदायिक विद्यालयमा सञ्चालन हुने छ । बाह्य खोप केन्द्र भने विद्यालय नभएका वा कम भएका वडाहरुमा आवश्यकता अनुसार राखिनेछ । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको छ ।
विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको पाइएको छ । यो अवस्थाको आधारमा नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिमको उच्च दर रहेको छ ।
टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको छ । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसंख्यामा १,०६२ मा टाइफाइड संक्रमण भएको र १५ वर्ष मुनिका प्रति १ लाख जनसँख्यामा १०,९६० व्यक्तिलाई टाइफाइड संक्रमण भएको पाईएको छ ।