कम उमेरका हाई प्रोफाईल विष्ट वडाध्यक्षमा निर्वाचित

भोजपुर- भोजपुरको षडानन्द नगरपालिका ७ को वडाध्यक्षमा कम उमेरका हाई प्रोफाईल युवा निर्वाचित भएकाछन् । नेकपा एमालेको तर्फवाट उमेद्वारी दिएका २८ बर्षीय दिपेश विष्ट वडाध्यक्षमा निर्वाचित भएका हुन् । विष्टले ३४६ मत सहित विजय प्राप्त गरेकाहुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डम्वर सिं तामांगले ३२९ भोट प्राप्त गरे भने नेपाली कांग्रेसका भक्त भुजेलले २८७ मत प्राप्त गरे ।

सानै उमेरमा विभिन्न व्यावसाय र समाज सेवामा सफल विष्टले षडानन्द नगरपालिकाको नेकपा माओवादी केन्द्रको गढ मानिएको ७ नम्वर वडाको वडाध्यक्षमा बाजी मारेका हुन् । विष्ट स्थानिय दिंला बजारका हार्डवेयर र यातायात व्यावसायमा सफल मानिन्छन् । सानै उमेरमा विष्ट ट्याम्के मैयुंग यातायात प्रालिको अध्यक्षको जिम्वेवारी पाएका विष्ट जिल्लाकै चर्चित अरुण माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । विष्टको नेत्रृत्वमा विद्यालयको भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तर विकासमा समेत फडको मारेको दावि गरेकाछन् । विष्टले केहि महिना अघि सम्पन्न नेकपा एमाले षडानन्द नगर कमिटीको सचिवको जिम्वेवारी समेत पाएकाछन् ।

वडाध्यक्ष निर्वाचित भई सकेपछि खवरट्वीट सँगको कुराकानीमा आँफुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, स्वास्थ्यलाई सर्वसुलभ वनाउने, कृषिलाई व्यावासायिकता तर्फ लग्ने, सडक यातायातको गुणस्तर वृद्धि गर्ने, खानेपानीको समस्या समाधान गर्दै, पर्यटन लगायतका पुर्वाधारको विकास गरि ५ बर्षमा नमुना वडा वनाउने प्रतिवद्धता विष्टले जनाए ।

गत २०७४ को निर्वाचनमा वडा नम्वर ७ मा एमालेले तेस्रो स्थान प्राप्त गरेको थियो । गत निर्वाचनमा माओवादी केन्द्रवाट निर्वाचित बुद्ध सिं तामांगले झिनो मतान्तरले निलमणि न्यौपानेलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए भने एमालेका दुर्गा पुलामीले तेस्रो स्थानको भोट पाएका थिए ।