१२ किमिको ५ सय भाडा लिएको भन्दै दिंलाका युवाले बुझाए ध्यानाकर्षण पत्र

दिंला,२०जेठ- भोजपुरको दिंला बजारका युवाले स्थानिय यातायात व्यावसायीले चर्को भाडा असुलेर सर्व साधारणलाई मार्कामा पारेको भन्दै षडानन्द नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन् । स्थानिय युवाहरुले आज नगर प्रमुख सुरेन्द्र उदासको कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन ।

स्थानिय युवाहरु नगेन्द्र राई, नारायण घिमिरे, अर्जुन वस्नेत लगायतले ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा षडानन्द नगरपालिकाको केन्द्र दिंला बजारवाट सतिघाटको दुरी १२ किलोमिटर रहेको र सडकको अवस्था पनि राम्रो भएतापनि भाडा ५ सय असुल गर्ने गरेको उल्लेख गरिएको छ । दिंला भोजपुरको सडक खण्डमा ३९ किमि कच्ची सडक भएता पनि ८ सय भाडा भएको युवाहरुले वताए । सर्वसाधारणलाई चर्को भाडादर तिर्नुपर्दा मार्का परिरहेको पनि उल्लेख गरिएको छ । युवाहरुले सवारी साधनले क्षमता भन्दा वढि यात्रु वोक्ने गरेको हुँदा सरोकारवाला सँग छलफल गरि निचोडमा पर्याएर समृद्धिको एउटा उदाहरण प्रस्तुत गरिदिन पनि नगर प्रमुखसँग आग्रह गरेकाछन् ।

ध्यानाकर्षण पत्र बुझाउन गएका युवा सँग नगर प्रमुख उदासले चासोका साथ वार्तालाप गरेका थिए । उनले सरोकारवालाहरुसँग वसेर चाँडैनै निष्कर्षमा पुग्ने भनि आश्वास्त पारेको ध्यानाकर्षण कार्यक्रममा सहभागि युवा नरेन्द्र राईले खवरट्वीटलाई वताए । यस बर्ष दिंला सतिघाट सडक खण्डको ग्रयाभेल निर्माणको अन्तिम चरणमा पुगेको भएतापनि चर्को भाडादर भएको भन्दै गुनासो वढ्दै गएको छ ।