षडानन्द नगर स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिंला-  षडानन्द नगर स्तरीय प्र.अ.बैठक र वि.व्य.स. अध्यक्षहरुको शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, नगर कर्मचारी, नगरभित्रका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष, प्रद्यानाध्यापकहरुको उपस्थितिमा शिक्षाका विविध समस्याका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानिय पाठ्यक्रम, बार्षिक कार्यपात्रो निर्माण, सिकाइ उपलव्धि बृद्धिका लागि क्रियाकलापहरु, नगरवाट शिक्षा क्षेत्रमा गर्नुपर्ने क्रियाकलापहरु, दिवा खाजा व्यवस्थापन, अंगेजी माध्यममा पठनपाठन लगायतका विषयमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा उपस्थित विद्यालयका प्र.अ. तथा व्यवस्थापन समिति अध्यक्षहरुलाई विभिन्न ६ वटा समुहमा विभाजन गराई प्रत्येकलाई एक एक विषय दिई छलफलमा सामेल गराईएको थियो । छलफलवाट आएका समस्या तथा समस्या समाधानका उपायहरु सहितका निश्कर्षलाई प्रत्येक समुहका एक जनाले कार्यक्रमको अन्त्यतिर प्रस्तुत गरेका थिए ।

सवै समुहवाट प्रस्तुत भएका विषयवस्तुहरुलाई एकिकृत गरेर प्रतिक्रियाका निमित्त पुनः विद्यालयहरुमा पठाउने नगर शिक्षा शाखा प्रमुख मणि कुमार तामांगले जानकारी दिए ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विव्यस अध्यक्षहरुले सुझाव तथा मागहरुपनि प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्वोधन गर्दै साल्पा प्राविकी प्रद्यानाध्यापक रत्ना श्रेष्ठले विद्यालयको गुणस्तर सुधारका निमित्त विभिन्न निकायावाट नियमित अनुगमन हुनुपर्ने माग गरिन् । त्यस्तै नगरस्तरीय विव्यस संघका अध्यक्ष राजेन्द्र विक्रम राईले नगरपालिकावाट शिक्षक बैंक स्थापना गरिनुपर्ने, शैक्षिक समपुरक कोष स्थापना गर्नुपर्ने, नगरमा साईन्सको ११,१२ पठनपाठन हुनुपर्ने, शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्थाहुनुपर्ने लगायतका सुझाव तथा माग पेश गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगर उप प्रमुख प्रमिला राईले शिक्षा क्षेत्रमा धेरै समस्या र वेतिथिहरु भएको वताईन् । उनले सामुदायिक विद्यालयमा दक्ष शिक्षक, शिक्षिका भएको तर मानशिक रुपमा तयार नभई विद्यालयमा जाँदा अंग्रेजी माध्यममा पठनपाठन गर्न समस्या भईरहेको अनुभव सुनाईन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख सुरेन्द्र उदासले विद्यालय शिक्षकहरुलाई ईमान्दारिताकासाथ उत्तरदायित्व वहन गर्दै कटिवद्ध भएर जिम्वेवारी पुरागर्न निर्देशन दिए । उनले प्रअहरुको अनुगमनको माग प्रति लक्षित गर्दै अव नयाँ विधि म्युचुएल मनिटरिङ (एक अर्काले अनुगमन गरेर) विधिवाट मनिटरिङ गरिनुपर्ने विचार व्यक्त गरे । उनले षडानन्द नगरपालिकाको क्षमताले भ्याएसम्म उपलव्ध स्रोत साधनको अधिकतम् उपयोग गर्दै शिक्षा क्षेत्रका समस्या समाधान गर्न लागिपर्ने प्रतिवद्धता जनाए ।