मन्त्री छाड्नुपर्दा रोईन झाँक्री

गणतन्त्रका लागि भएको आन्दोलनमा ‘पोस्टर गर्ल’को छवि बनाएकी रामकुमारी झाँक्री आज भने भावुक देखिइन् । शहरी विकासमन्त्रीको पद त्याग्दै गर्दा झाँक्रीले पत्रकार सम्मेलनमै बारम्बार आँसु बगाइन् । ‘भन्नुपर्ने धेरै कुरा छैन’ भन्दै उनले आँसुको भाषामार्फत धेरै कुरा बोल्ने प्रयास गरिन् ।

उनी सम्बद्ध नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको २१ दिनपछि उक्त निर्णय मान्दै मन्त्री पदबाट राजीनामा घोषणा गर्दैगर्दा झाँक्रीले आँसु थाम्न सकिनन् ।

पत्रकार सम्मेलनमा ढिलोगरी छिरेकी झाँक्री कार्यक्रमभरि आँसु पुछिरहिन् । पत्रकार सम्मेलनको वातावरण सामान्य बनाउन हाँस्ने प्रयास गरे पनि उनका आँखामा आँसु भने छचल्किइरहे ।

२०६\२०६३ को जनआन्दोलनबाट राजनीतिमा उदाएकी झाँक्री आफ्नो ‘बोल्ड’ र ‘हक्की’ स्वभावका कारण राजनीतिमा परिचित थिइन् । राजनीतिमा उनको परिचय नै थियो, ‘पोस्टर गर्ल ।’

मन्त्री हुनुअगाडिसम्म पनि उनले आफ्नो त्यो परिचय कायम राखेकी थिइन् । तत्कालीन नेकपामा विवाद जारी रहँदा मुखमा टेप टाँसेर मञ्चमा, ‘बोल्न, पाइन्छ, लेख्न पाइन्छ’ भन्दै ओलीको विरोध गरेकी झाँक्री आज भने बोल्न सकिनन् ।

दुईपटक भएको संसद विघटन र ओलीको प्रधानमन्त्रीकालभरि ओलीमाथि निरन्तर प्रश्न गरिरहने थोरै एमाले कार्यकर्तामध्ये उनी अग्रपंक्तिमा थिइन् । ओलीले गरेको संसद विघटनविरुद्ध लडिरहँदा पक्राउ पर्ने एक मात्र नेता थिइन् झाँक्री ।

संसद विघटनका क्रममा राष्ट्रपतिको भूमिका गलत देखिएको भन्दै प्रश्न गरेकी झाँक्रीलाई उनको घरबाटै पक्राउ गरिएको थियो । पक्राउ पर्दापर्दै पनि उनले अभिव्यक्ति स्वतन्त्रता र संविधानका पक्षमा नारा लगाएकी थिइन् ।

तर, आइतबार शहरी विकास मन्त्रालयमा देखिएको दृश्यले भने झाँक्रीको यो ‘विद्रोही’ स्वभाव देखिएन । उनको त्यो निडर नेताको रूप देखिएन । आइतबार मन्त्रालयमा झाँक्रीले बगाएको आँसुले उनको व्यक्तित्वमाथि बनेको बिम्ब परिवर्तन भएको छ । ‘हक्की’ नेताबाट ‘रुन्चे’ कार्यकर्ता बन्ने बाटोमा मोडिएकी हुन् कि भन्ने संशय पैदा भएको छ । पत्रकार सम्मेलनमा झाँक्रीले बगाएको आँसुले उनको ‘बोल्ड’ छवि बगाएको हो कि भनेर प्रश्न उठेको छ ।

४ भदौमा माधव नेपाललाई हातै समाएर निर्वाचन आयोगमा नेकपा एस दर्ता गर्न डोर्‍याएकी झाँक्रीलाई धेरैले त्यतिखेर नेतृत्वलाई परिचालित गर्न सक्ने युवानेताका रूपमा अर्थ्याएका थिए ।

तर, मन्त्री पद जोगाउन नयाँ पार्टी स्थापना गर्नेदेखि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गलाउन संसदीय दलको बैठकको माग गर्नेसम्मको उनको प्रयासले उनमा रहेको ‘पदीय मोह’ उजागर गर्‍यो ।