भोजपुरको दुर्गम साल्पासिलिछों गाउँपालिका सेवाग्राही खोज्दै काठमाण्डौमा

देशका सुगम मानिने पालिकालेनै कर्मचारी अभाव लगायतको वहानामा जनतालाई उचित सेवा दिननसकेको समाचार कुनै अनौठो होईन । जनप्रतिनिधि र कर्मचारीका नैराश्यताका कारण अधिकांस पालिकाका सेवाग्राहीले सेवा लिँदा कष्ट वेहुर्नु सामान्य हो । यस्तो अवस्थामा भोजपुरको उत्तरी दुर्गम साल्पासिलिछो गाउँपालिकाले भने विभिन्न कारण काठमाण्डौमा रहेका पालिकाका सेवाग्राहीलाई संघीय राजधानीमै सहज तरिकाले सेवा प्रदान गरेको छ । पालिकाले काठमाण्डौमा एक दिने शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएको हो ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि नागरिकको सेवालाई ध्यानमा राख्दै काठमाण्डौमा एक दिने कार्यक्रमको आयोजना गरेर आफ्ना नागरिकलाई सेवा दिएको पालिकाले वताएको छ ।

काम विषेशले काठमाण्डौ पुगेका तथा विभिन्न कारण बस सेवाबाट बञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै एक दिने सेवा प्रवाह कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । ‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’अध्यक्ष कुलुङले भने, ‘ हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ । नागरिकको सेवालाई ध्यानमा राख्दै हामीले यहाँबाट आजको एक दिन गाउँपालिका तथा सबै वडाबाट हुने सेवा प्रवाह गरेका छौँ ।’

जोरपाटीमा सञ्चालन भएको शिविरबाट काठमाण्डौमा रहेका करिव एक सय ५० जनाले विभिन्न प्रकारका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी वताए । स्थानीय नागरिकबाट माग भएकोले धरान विराटनगर, इटहरी झापा लगाएत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष कुलुङले बताए ।

मन्त्रालयको कामको लागि काठमाण्डौ पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रम मार्फत सेवा प्रवाह गरेको उनको भनाइ छ । वर्षात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्छ । जसको कारण स्थानीय नागरिकलाई समस्या हुँदै आएको छ । गाउँपालिकाको खर्च नभएर जनप्रतिनिधीहरुले आफ्नै खर्चमा शिविर सञ्चान गरिएको अध्यक्ष कुलुङको भनाई ।