भोजपुरका हेमराज राई १० बर्षपछि एमालेमै फर्किए

पूर्वमन्त्री हेमराज राई १० वर्षपछि नेकपा एमालेमै फर्किएका छन्। अशोक राईसँगै तत्कालीन संघीय समाजवादी पार्टीमा लागेका उनी जनता समाजवादी पार्टीमा विभाजनसँगै एमालेमा फर्किएका हुन्।

उनले अहिले दशेमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले अब एमालेले समृद्धिको यात्रा पूरा गर्ने बताए। एमालेले नै नेपाली समाजका वर्गीयसहितका समस्या समाधान गर्न सक्छु, उनले भने, यो पार्टी नेपाल र नेपालीको हितमा क्रियाशील पार्टी हो। यो पार्टीलाई समृद्ध बनाउन हामी एमालेमा फर्किएका हौँ।

उनले नयाँ परिस्थितिमा एमालेमा फर्किएर थप सशक्त बनाउने निर्णयसहित आफूहरु पुरानै घरमा आएको पनि बताए। यस पार्टीमा आजदेखिको हाम्रो संलग्नतलाई नेतृत्वले जिम्मेवार ढंगले लिएको छ भन्ने बुझेका छौँ, उनले भने।

राईले एमालेमा फर्किएपछि सत्ता गठबन्धनलाई सिद्धान्तहीन भने। सिद्धान्तहीन र लक्ष्यहीन सत्ता गठबन्धनले देशलाई दिशाहीन बनाएको छ, उनले भने, सिद्धान्तनिष्ठ राजनीतिक ध्रुवीकरणले नै देशको राजनीतिलाई स्थायित्वतिर लैजान्छ।

राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बी सार्की पार्टी प्रवेश गरेकाहुन् ।

त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु एमाले प्रवेश गरेकाछन् । राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए ।