योगमाया आयुर्वेद विश्व विद्यालयलाई २ सय रोपनी जग्गाको धनीपुर्जा हस्तान्तरण

दिंला– भोजपुर र संखुवासभामा निर्माणधिन विदुषी योगमाया आयुर्वेद विश्व विद्यालयको लागि २ सय रोपनी जग्गाको पुर्जा हस्तान्तरण भएको छ । षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा निर्माणाधिन योगमाया आयुर्वेद विश्व विद्यालयको नाममा २ सय रोपनी ९ आना ३ पैसा २ दाम जग्गा आज दिंला मालपोत कार्यालयवाट दाखा भई पुर्जा हस्तान्तरण भएको हो ।

षडानन्द नगरपालिका ६ को बट्टार क्षेत्रको २३ जनाको नाममा रहेको २ सय रोपानी ९ आना ३ पैसा २ दाम जग्गा संयुक्त रुपमा जग्गा प्राप्ति ऐन २०३४ अनुसार विश्व विद्यालयको नाममा दाखिला गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले खवरट्वीटलाई जानकारी दिए। आँफु र आफ्नो टीम निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेको काम सम्पन्न भएकोमा मेयर उदासले खुशी व्यक्त गरे ।

जग्गा छनौट तथा मुआब्जा सम्बन्धि समिति र मालपोत कार्यालयको दररेट अनुसार जग्गाधनिले प्रति रोपनी ५० हजारको दरले मुआब्जा पाउने छन। यदि दान भनेर दिए दान हुने र २ सय रोपनी ९ आना ३ पैसा २ दाम जग्गा मध्येमा करिब १४ रोपनी जग्गा निशुल्क दान भएको षडानन्द नगरपालिकाका प्रमुख उदासले बताए।

योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको लागि षडानन्द नगरपालिकालाई २ सय ३३ रोपनी खरिद अनुमति दिउको छ । बाँकी जग्गा पनि प्राप्तिको लागि प्रक्रियामा रहेको र चाँडै प्राप्ति हुने विदुसी योगमाया विश्वविद्यालय पुर्वाधार निर्माण विकास समितिले जनाएको छ । विश्वविद्यालय निर्माणको लागि संखुवासभामा ३ सय ७२ रोपनी जग्गा खरिदको लागि मन्त्रालयवाट अनुमति प्राप्त भएको छ । संखुवासभामा ४८ रोपनी खरिद गरिएको र बाँकी जग्गाको प्राप्तिको प्रक्रियामा रहेको विदुसी योगमाया विश्वविद्यालय पुर्वाधार निर्माण विकास समिति फिल्ड कार्यालय तुम्लिङ्टारका संयोजक खड्ग राईले जानकारी दिए ।

विश्वविद्यालयकोलागि जग्गा उपलव्ध गराउने जग्गादातालाई नगरपालिकाले सम्मान गरेको छ । जग्गा पास गर्न उपस्थित उपलव्ध जग्गादातालाई सधन्यवाद सम्मान गरेको हो ।