
दिंला- भोजपुरको उत्तरी शैक्षिक केन्द्र दिंलामा १५औं पुस्तकालय दिवसको अवसरमा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । षडाननद बहुमुखी क्याम्पस, मुलपानी सामुदायिक अध्ययन केन्द्र र षडानन्द सामुदायिक पुस्तकालय द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा स्थानिय जन प्रतिनिधि, शिक्षाकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा षडानन्द बहुमुखि क्याम्पसका प्रमुख नगेन्द्र वस्नेतले षडानन्द नगरपालिकामा पुस्तकालयको अवस्था, संभावना र चुनौतीहरुका सन्दर्भमा प्रकास पारेका थिए । विचार गोष्ठीमा सहभागि प्रतिनिधिहरुले पछिल्लो समय पढ्ने वानी हराउँदै गएको, भएका पुस्तकालयहरु पनि व्यवस्थित नभएको र पुस्तकालयहरुको वारेमा प्रचार प्रसार नभएको विचार व्यक्त गरेका थिए । दिंला क्षेत्रमा विभिन्न काल खण्डमा पुस्तकालयहरु खुलेता पनि हाल मुलपानी सामुदायिक अध्ययन केन्द्र र षडानन्द सामुदायिक पुस्तकालय मात्र अस्तित्वमा रहेको क्याम्पस प्रमुख वस्नेतले जानकारी दिए । उपस्थितले दिंलामा व्यवस्थित पुस्तकालय सञ्चालन गर्नकालागि षडानन्द नगरपालिकाका मेयर, उपमेयरसँग पुर्वाधार र आर्थिक व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राईले नगरपालिका भित्र भएका पुस्तकालयको वारेमा पनि प्रचार प्रसार नहुँदा पाठकहरु पढ्नवाट वञ्चित हुनुपरेको विचार राखिन । उनले पुस्तकालय व्यवस्थापनकालागि आफ्नो तर्फवाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा सम्वोधन गर्दै मेयर सुरेन्द्र उदासले पुस्तकालय व्यवस्थापन र पढ्ने वानीको कमी दुवै अहिलेको मुख्य समस्या रहेको विचार राखे । उनले दुवै समस्यालाई एकै पटक समाधान गरेर अघि वढ्न सकिने समेत विचार व्यक्त गरे । मेयर उदासले रचनात्मक तरिकाले जन प्रतिनिधि र शिक्षाकर्मीहरुवाटै पढने वानी र पुस्तकालयको दिगो विकास हुनु पर्नेमा जोड दिए । उनले पुस्तकालयको व्यवस्थापनको लागि उचित प्रस्ताव आएमा नगरको स्वामित्वमा रहेका र खाली रहेका भवनहरुलाई तत्काल कार्यपालिकावाट निर्णय गरेर प्रयोग गर्न दिन सकिने पनि वताए ।