भारतमाथि ३-१ को जित निकाल्दै नेपाल समूह विजेता

श्रीलंकामा जारी साफ यू- १७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतविरुद्ध सानदार जित निकालेको छ । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा उत्कृष्ट पूनरागमनका साथ नेपालले ३-१ को जित हासिल गरेको छ ।

नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंक विहिन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । १-० ले पछि परेको खेलमा नेपालले उल्टाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्न सफल भयो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

यो खेलको नतिजाले समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ । समूह बीको अर्को टोली भुटानलाई नेपालले २–१ ले र भारतले ३–० ले हराएको थियो । आजको खेलमा विजयी भएपछि नेपाल समूह विजेता बनेको हो । समूह एमा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् । समूह ए को उपविजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ ।