भोजपुरमा ज्वाला-मुखदार रुद्राक्षको उत्पादन बढ्यो

दिंला- रुद्राक्षको राजधानी मानिने भोजपुरमा यस बर्ष महंगो मुल्यमा विक्रिहुने ज्वाला-मुखदार (धेरै मुख हुने र २,३ वटा जोडिएको) रुद्राक्षको उत्पादन बढेको पाईएको छ । भोजपुरको रुद्राक्ष उत्पादन हुने मुख्य क्षेत्रहरु षडानन्द नगरपालिका, साल्पा सिलिछों गाउँपालिका लगायतका क्षेत्रमा रुद्राक्षको उत्पादन बढेको कृषकहरु बताउँछन् ।

षडानन्द नगरपालिकाको सालवोटे,गहते,साल्मा,बडहरे,आँपटारी, उदयपुर, चिउरीवोटे, मझुवा का साथै साल्पा सिलिछों गाउँपालिकाका कुलुङ् बुम्लिङ् लगायतका ठाउँ ज्वाला मुखदार रुद्राक्ष उत्पादनको हिसावले चर्चित ठाउँहरुहुन् । यस बर्ष विशेष गरि तल्लो भागमा ज्वाला मुखदार रुद्राक्ष उत्पादन धेरै भएको कृषकहरु वताउँछन् । गएको २ बर्षको तुलनामा यस बर्ष ज्वाला मुखदार रुद्राक्ष धेरै फलेको षडानन्द नगरपालिका ७ का राम बादुर तामाङले बताए । उनले भने विगतका बर्षको २ बर्षमा नफलेको रुद्राक्ष यस बर्ष एकै बर्षमा ६५ दाना फल्यो ।

रुद्राक्ष उत्पादन बढेसँगै आम्दानीपनि बढेपछि कृषकहरुमा खुशीयाली छाएको छ । यस क्षेत्रका किसानको मुख्य आम्दानीको रुपमा रहेको रुद्राक्षको उत्पादन बढेपछि कृषकहरु खुशी भएकाहुन् । रुद्राक्षको आम्दानीलेनै घर खर्च धान्दै आएको कृषक राम बहादुर राईले बताए । रुद्राक्षको उत्पादन बढेपछि रुद्राक्षको मुल्यमा भने गिरावट आएको छ । यसको व्यापार सिमित हुने हुँदा उत्पादन धेरै भएपछि मूल्य घट्ने व्यावारीहरु वताउँछन् ।

भदौ लागे कृषकहरुले सँगै तल्लो भेगको रुद्राक्ष टिप्न शुरु गर्दछन् । महंगो हुने र चरा तथा चोरीवाट बचाउनको लागि पनि ज्वाला मुखदार रुद्राक्ष राम्रो नपाकी टिप्न बाध्यहुनुपर्ने कृषकहरु बताउँछन् । करिव सय बर्ष अघिदेखि भारतमा निर्यात हुँदै आएको ज्वाला मुखदार रुद्राक्षले एक दशक अघिदेखि चीन तर्फको बजार पनि पाएको छ । पछिल्लो समय विश्वका अधिकांस देशहरुमा थोर बहुत रुद्राक्ष निर्यात हुन थालेको व्यापारीहरु बताउँछन् ।

भोजपुरवाट बार्षिक लाखौंको रुद्राक्ष विदेश निर्यात हुने गरेको छ । ज्वाला मुखदार रुद्राक्ष पहिले पहिले धार्मिक प्रयोजनको लागि मालाको रुपमा उपयोग हुने गरेकोमा हाल छाला तथा विभिन्न रोगको उपचारको लागि पनि प्रयोग हुने जानकारहरु वताउँछन् ।