डोटीको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत

डोटी- डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको हो । घाइते ५ जनाको उपचारका लागि अस्पताल लगिएको डीएसपी भोला भट्ट भट्टले बताए ।