
धनकुटा- नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा सबै स्थानमा जीत हात पार्दै जिल्लालाई क्लिन स्वीप गरेको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लामा नेकपा एमालेले सबै स्थानमा जीत हात पारेको हो । निर्वाचनमा ह्याट्रिक भिडन्त गरेका एमालेका राजेन्द्रकुमार राईले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पछि पार्दै जीत हात पारे ।
राईले ३० हजार १०१ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । २०७० र २०७४ का निर्वाचनमा समेत दुवै प्रतिस्पर्धी थिए । २०७० मा थापाले जित हात पारेका थिए भने २०७४ मा राई विजयी भएका थिए । मतदातामा यस पटक कस्ले बाजी मार्ला भन्ने चासो बढेको थियो । सुरुवातदेखि तीव्र प्रतिस्पर्धा रहेकोमा राईले बाजी मार्न सफल भएका हुन् ।
यस्तै,माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्यागेर स्वतन्त्र उम्मेदवार भएका हेमराज भण्डारी तेस्रो स्थान प्राप्त गरे । उनले ५ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा १ तर्फ एमालेका निरन राई र प्रदेशसभा २ मा सोहि पार्टीका इन्द्रमणी पराजुली विजयी भए । दुवैले दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रवेश गरेका हुन् । राईले १७ हजार १८ मत प्राप्त गरी विजयी भए । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले १० हजार २ सय २५ मत प्राप्त गरेका थिए ।
जनता समाजवादीका नेता रकम चेम्जोङले ८ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । जिल्लामा कुल मतदातामध्ये १ लाख १६ हजार ९ सय ९१ मध्ये ६९ हजार ४ सय ९६ अर्थात् ५९ दशमलव ४० प्रतिशत मत खसेको थियो ।