८ बर्षमा पनि खानेपानी आयोजना सम्पन्न नभएपछि…

दिंला- भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधिन केउरेनीपानी खानेपानी योजना ८ बर्षसम्म सम्पन्न नभएपछि नगरको वडा नम्वर ७ को सक्रियतामा सरोकारवालाहरु विच छलफल आयोजना गरिएको छ । लामो समयसम्म आयोजना सम्पन्न नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेपछि छलफल गराईएको वडाध्यक्ष दिपेश विष्टले जानकारी दिए ।

छलफलमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, खानेपानी डिभिजन कार्यालय भोजपुरका अधिकृत खडग पौडेल, वडा नम्वर ४ का वडाध्यक्ष राजकुमार तामांग, खानेपानी उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र श्रेष्ठ, वडा नम्वर ७ का पूर्व वडाध्यक्ष बुद्धसिं तामांग, सिताराम गूठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलका साथै उपभोक्ता र सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
छलफलमा वडा नम्वर७ का वडाध्यक्ष दिपेश विष्टले खानेपानी आयोजनाको समस्या खानेपानी डिभिजन कार्यालय, उपभोक्ता समिति र उपभोक्ता मध्येवाटै भएको विचार राख्दै सम्वन्धित ३ पक्षवाटै समस्या समाधान गर्नको निमित्त जोड दिए ।

यता वडा नम्वर ४ का वडाध्यक्ष राजकुमार तामांगले खानेपानी उपभोक्ता समितिको उदासिनताका कारण आयोजनाले गति लिन नसकेको आरोप लगाए । उनले भने “हामिले पटक पटक पहल गर्दापनि उपभोक्ता समितिले कानमा तेल हालेर वस्दा आम उपभोक्ताले खानेपानीको समस्या भोगिरहनुपरेको छ ।”

वडा नम्वर ७ का पूर्व वडाध्यक्षले समेत समितिकै लापर्वाहिका कारण खानेपानी आयोजना समयमा सम्पन्न हुन नसकेको वताए । जसरी भएपनि काम तुरुन्त अघि वढ्नुपर्ने उनको जिकीर छ ।

यता खानेपानी डिभिजन कार्यालय भोजपुरका अधिकृत खडग पौडेलले कार्यालयको तर्फवाट आयोजना अगाडि वढाउन कुनै पनि बाधा अडचन नभएको वताए । आयोजनाको निमित्त बजेटको अभाव नभएको तर उपभोक्ता समितिले विधान निर्माण, मुहान दर्ता, पान नम्वर लिने लगायतका कानुनी प्रक्रिया पुरा गरि अघि बढ्न सुझाए ।

उपभोक्ता समिति अध्यक्ष जितेन्द्र श्रेष्ठले मुहानवाट ईन्टेक र मेनलाईनको पाईपलाईन खनिसक्नुको साथै ५ वटा ट्यांकी पनि निर्माण भईसकेको जानकारी दिए । उनले सम्पूर्ण प्रक्रिया पुरा गरि आषाढ मसान्त सम्ममा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

नगर प्रमुख सुरेन्द्र उदासले समितिका सवै सदस्यलाई जिम्वेवार भएर कामगर्न आग्रह गरे । उनले आमसभा बोलाई उपभोक्ता समितिलाई पूर्णता दिएर विधान निर्माण, मुहान थप्ने, दर्ता गर्ने लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरि आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिए ।

केउरेनीपानी खानेपानी आयोजना षडानन्द नगरपालिकाका ४,६,७ र ८ नम्वर वडाका ३ सय २६ घरपरिवारलाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले २०७१ म शुरु गरिएको थियो । आयोजना समयमा सम्पन्न नहुँदा दिंला बजार आसपासका अधिकांस उपभोक्ता चर्को मुल्यमा खानेपानीको मुहान किनेर पानी उपभोग गरिरहेकाछन् भने गाउँ क्षेत्रका उपभोक्ता टाढाटाढावाट बोकेर पानी उपभोग गर्न बाध्यछन् ।