
काठमाडौं- भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी ‘ढिसमिस’ पारिएपछि पीडितहरूले न्यायका लागि सार्वजनिकरूपमा अपिल गरेका छन् ।
सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र त्यसको आधारमा जाहेरी दर्ता गरिएपनि राजनीतिक दबाबमा पीडकलाई संरक्षण गरिएको उनीहरूको भनाइ छ ।
शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पीडितहरूले गाउँपालिकाका पूर्वअध्यक्ष महेशलाई जोगाउन प्रधानमन्त्रीपत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाण र महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएका छन् ।
महेशले भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालय राईसँग गत २०७८ मंसिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बूढानीलकण्ठ(१० कपनस्थित घरमा बस्दै आएकोमा भोजपुरको हतुवागढी(४ की ४५ वर्षीया माया राईले फागुन १६ मा आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको हिमालयको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य रहेकी माया नेपाली कांग्रेसको समानुपातिकको बन्दसूचीमा पनि छन् । उनको नाम कांग्रेसले आयोगमा पेस गरेको बन्दसूचीमा ५६ नम्बरमा छ ।
जेठी श्रीमतीको मृत्युपछि महेशले आफूलाई विवाह गरेर जेठीपट्टिकी छोरीसँग कपनमा राख्दै आएको भए पनि सुनियोजित रूपमा अगाडिको मितिमा मायासँग बिहे दर्ताको कागज बनाएर आफूलाई अलपत्र पारेको हिमालयको गुनासो छ ।
आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याई राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मंसिर २ को बिहे दर्ताको कागज बनाएपछि कारबाहीको मागसहित दिएको जाहेरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले दर्ता गर्न मानेका थिएनन् । हिमालयले जारी गरेको अपिलअनुसार त्यसपछि सरकारी वकिल कार्यालयमा जाँदासमेत सह(न्यायाधिवक्ता गंगाप्रसाद पौडेलले बहाना बनाएर फिर्ता पठाएको उनले बताइन् ।
हिमालयले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल), महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र त्यहाँका सह न्यायाधिवक्ता पौडेललाई विपक्षी बनाई पाटन उच्च अदालतमा बहुविवाहको जाहेरी दर्ता गरी अनुसन्धान कार्य सुरू गर्नरगराउन अन्तरिम आदेशको माग गरेकी थिइन् ।
२०७९ असार २९ गते उच्च अदालतले जाहेरी दर्ता गर्न दिएको आदेशअनुसार भदौ १३ मा जाहेरी दर्ता भएको थियो । विवाहका पण्डित, लमी, आफन्त र कांग्रेसका जिल्ला अधिवेशमा उपस्थित भएकाहरूले समेत जाहेरी सत्य भएको कागज गर्दागर्दै प्रहरीले मुद्दा नचलाउने निर्णय भइसकेको जानकारी गराएको पीडित पक्षले बताएको छ ।
यही मंसिर १ गते जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले महेश राईले हिमालय महेशको श्रीमती भएको ‘वस्तुनिष्ठ’ प्रमाण नपुगेकोले महेश र मायामाथि बहुविवाहको कसूरमा मुद्दा नचल्ने उल्लेख छ ।
हिमालयले जाहेरीसाथ पेस गरेको फोटो तथा भिडिओबारे महेशले आफूलाई बिहेको नभई महासमिति सदस्य भएकोमा फेटा लगाएर सम्मान गरेको भनेको, मायाले मंसिर २ गते सिद्धकाली मन्दिरमा बिहानको ४ बजे बिहे गरेको पार्टी काम र श्रीमान महेश बिरामी भई अस्पताल भर्ना भएकाले विवाह दर्ता गर्न केही ढिला भएको बयानलाई आधार मानेर सरकारी वकिल कार्यालयले उक्त निर्णय गरेको छ ।
हिमालयले आफूलाई राजनीतिक प्रहरी र प्रशासनले थप पीडा दिएको बताइन् । आफन्त मालती राईले गृहमन्त्री खाणले नै यो मुद्दा हेर्दैन पछि नलाग्नु भनेर आफूलाई कांग्रेसका एक नेताले भनेको जिकिर गरिन् । हिमालयका दाइ प्रेम राई पीडितले थप पीडा भोग्दै जाने र पीडक राजनीतिक संरक्षण पाएर यसरी नै खुलेआम हिँड्ने हो भने आमरण अनसन थाल्ने बताउँछन् ।