विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन, को हुन पेले ?

पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान पनि जोडिन्छ‚ जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे, १ हजार ३ सय ६३ खेल खेलेर । उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए । उनले जहाँ , जति खेल खेलेस त्यहाँ सबैको मनमा रहन सफल रहे । सानोमा साओपाओलोको बारु एफसीबाट खेल्न सुरु गरेका पेले लगत्तै सान्तोससँग आबद्ध भएका थिए ।

जम्माजम्मी १५ वर्षको उमेरमै उनले सिनियर टिमबाट डेब्यु गरिसकेका थिए । सिनियर टिमबाट उनले डेब्यु गरेको दिन थियो, सन् १९५६ सेप्टेम्बर ७ । त्यो कोरिनथिएन्सविरुद्धको खेल थियो । उक्त खेलमा उनले एक गोल पनि गरे । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए ।

पेलेको प्रसिद्धि भने सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५(२ ले हराएको थियो । भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए । उनको वास्तविक ख्याति भने सन् १९७० को विश्वकपबाट प्राप्त भएको थियो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिल फेरि एकपल्ट च्याम्पियन भयो ।

फाइनलमा ब्राजिलले इटालीलाई हराएको थियो । त्यसमा पनि पेलेले सुरुमै गोलको खाता खोलेका थिए । यही विश्वकपबाट हो, विश्व फुटबलमा १० नम्बर जर्सीको महत्त्व र ख्याति बढेको । सन् १९७० को त्यो विश्वकप विजयी ब्राजिली टोलीलाई अहिलेसम्मकै सबैभन्दा महान् टिम पनि मानिन्छ । पेलेले जसरी फुटबल खेले, त्यसले यो खेलको परिभाषालाई नै परिवर्तन गरेको मानिन्छ । त्यसैले भनिन्छ, विश्व फुटबलमा पेलेजत्तिको खेलाडी न त थियो, न छ, न रहनेछ ।

विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे । फुटबलको विश्वबारे फिटिक्कै रूची नहुनेका लागि पनि कम्तीमा पेलेबारे भने केही थाहा हुन्थ्यो । यो उदाहरण त हाम्रैतिर पनि उत्तिकै मिल्छ । यसले पनि देखाउँछ, यी पेले फुटबलका कति धेरै सर्वकालीन महान् खेलाडी हुन भनेर ।

यिनै पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । फुटबललाई सुन्दर खेल भनिन्छ, यसले धेरैलाई आफ्नो व्यक्तिगत दुःख बिर्सन मद्दत गर्छ । फुटबल आफैँमा एउटा कला हो । फुटबलले यो सबै उपमा किन पाएको थियो भने यससँग पेलेजस्ता खेलाडी थिए, जसले आफ्नो दुई दशक लामो खेल जीवनमा जादुयी प्रदर्शन गरेर सबैको मन जिते । ब्राजिल देश नै सबैतिर चिनिनु र लोकप्रिय हुनु पछाडि फुटबल र पेलेलाई कारण मानिन्छ ।