यु. डब्लु. एस् नेपाल र मकालु गाउँपालिकाको सहकार्यमा शिक्षक क्षमता विकास तालिम सम्पन्न

संखुवासभा- मकालु गाउँपालिका र यु.डब्लु.एस् नेपाल संखुवासभाको सहकार्यमा मकालु गाउँपालिकामा २ दिने शिक्षकको क्षमता अभिवृद्धि तालिम  सम्पन्न भएको छ ।  मकालु गाउँपालिका वडा नं. ९ को तालिम हलमा पौष १८ र १९ गते  संचालित तालिममा मकालु गाउँपालिका भित्र रहेका  ४५ वटा सामुदायिक विद्यालय र १ वटा निजि विद्यालय गरि जम्मा ४६ वटा विद्यालयका ५७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
मकालु गाउँपालिकाले आयोजना गरेको जम्मा ५ दिने तालिममध्ये  यु.डब्लु.एस् नेपालका प्रशिक्षकहरुबाट प्रदान गरिएको २ दिने तालिममा शिक्षकहरुलाई शिक्षण सिकाई कृयाकलापमा आवश्यक सिपहरुमध्ये प्रभावकारी पाठयोजना निर्माण, विद्यार्थी सहभागिता, सकारात्मक व्यवहार व्यवस्थापन  सम्बन्धी विषयहरुमा सहजीकरण गरिएको थियो  । उक्त तालिम पाएपछि  आगामी दिनमा विद्यालयमा आफूलाई शिक्षण सिकाई कृयाकलापलाई प्रभावकारी ढंगबाट अगाडी बढाउन तालिममा सिकेको Splat Boom, Pictionary, Quack जस्ता खेलविधि, Rhymes र उपयुक्त ध्वनि व्यवस्थापन सिप सिक्ने अवसर जुटेकोमा मकालु आधारभुत विद्यालय, मकालु-२ सेदुवाका शिक्षक ज्ञान बिक्रम राईले खुसी व्यक्त गरेका छन्।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मकालु गाउँपालिकाकी उपाध्यक्ष मनकला राईले यस किसिमको तालिमहरुले शिक्षकहरुलाई विद्यालयमा गई शिक्षण गर्न थप उर्जा मिल्नेमा  र तालिममा सिकेको सिपलाई विद्यालयमा प्रयोग हुनेमा आफु विश्वस्त रहेको बताउँदै मकालु गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारको लागी यु.डब्लु.एस् नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिईन। त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र ब. दर्जीले शिक्षकहरुले २ दिनको तालिमलाई विद्यालय गई व्यवहारमा प्रयोग गर्नेमा आफू विश्वस्त रहेको र आगामी दिनहरुमा पनि यु.डब्लु.एस् नेपालसँगको सहकार्यमा शिक्षकहरुलाई थप तालिमको योजना गाउँपालिकाले गरिरहेको बताएका छन् ।
तालिमको सहजीकरण यु.डब्लु.एस् नेपालका शिक्षा अधिकृत अमृत ढकाल र विद्यालय परिचालिका सुष्मा घिमिरेले गरेका थिए । यु.डब्लु,एस नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीका अनुसार, “संखुवासभा जिल्लाका अन्य स्थानीय सरकारहरुसँग समेत सहकार्य र समन्वय गरी आगामी दिनहरुमा यसप्रकारका तालिमहरुलाई संचालन गर्ने र शिक्षकहरुको पेसागत क्षमता र व्यवहारिक सिप विकासमा सहयोग प्रदान गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न  यु.डब्लु.एस् नेपाल सदैब तत्पर छ”, भनि बताएका छन् ।