तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ विमानले उडान भर्ने

काठमाडौँ- संखुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान उड्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा गराएको परीक्षण सफल भएपछि बुद्द एयरलाई काठमाडौं–तुम्लिङटार उडान अनुमति दिएको हो ।

सखुंवासभाको तुम्लिङटार विमानस्थलमा अब ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमानले उडान गर्न सक्ने भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘दुर्गम र पहाडी भेगका विमानस्थलमा ठूला विमानको सेवा बिस्तार हुनुले यात्रुलाई ६८ सय रुपैया हवाइ भाडामा १५ सयदेखी २ हजार रुपैयासम्म टिकट पनि सस्तो पर्न जाने छ ।’

अरुण नदि र सभा खोलाकोबीचमा रहेको तुम्लिङटार विमानस्थल समुन्द्री सतहदेखी १३ सय १६ फिट उचाईमा छ । प्राधिकरणले हालै सुर्खेत र तुम्लिङटार विमानस्थलको धावनमार्ग सुधार गरेपछि ठूलो एटीआरबाट व्यवसायिक उडानकालागि परीक्षण उडान गराएको थियो । प्राधिकरणअघि बुद्ध ०७८ जेठ २१ गते तुम्लिङटारमा एटीआर–७२ बाट पहिलोपटक परीक्षण उडान गरेको थियो ।

यी दुबैमा ठूलो एटीआरबाट उडान सम्भव देखिएपछि प्राधिकरणले उडान अनुमती दिएको हो । ‘पहिलो चरणमा एटीआर–७२ ले दैनिक एक उडान गर्ने छ,’ भुलले भने,‘तीनमहिनापछि बुद्धले दैनिक दुई उडान गर्ने भनेको छ ।

०२९ सालदेखी सुरु भएको तुम्लिङटारमा सशस्त्र द्वन्द्व अघि नेपाल वायुसेवा निगम, नेपाल एयरवेज र निकोन एयरले ५० सिट क्षमताको एभ्रो र टुइनअटर विमान उडाउँथे ।

द्वन्द्वपछि उडान रोकिएको तुम्लिङटारमा बुद्धले १९ सिट क्षमताको बीचक्राफ्ट विमानबाट व्यवसायिक उडान थालेको थियो । मकालु हिमाल आरोहण तथा पदयात्रा प्रवेशद्धारमा रहेको तुम्लिङटारमा यात्रु चाप बृद्धि भएपछि बुद्धले सुरुका दिनमा दैनिक एउटा उडान १९ सिट क्षमताको बीचक्राफ्ट र ४७ सिट क्षमताको एटीआर–४२बाट उडान थालेको थियो ।

बुद्धजे ठूलो विमानबाट थालेको उडानले संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रबाट दैनिक धरान, इटहरी हुँदै घण्टौं लगाएर महंगो भाडा तिरी काठमाडौं पुग्ने सडक यातायातका यात्रुलाई सहज हुने जनाएको छ ।