राष्ट्रपति विद्यादेवी भण्डारीले गृह जिल्लाको भ्रमणमा गर्ने

भोजपुर- राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २५ गते गृह जिल्ला भोजपुरको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म तथा कर्म स्थलका साथै षडानन्द नगरपालिका र साल्पासिलिंछो गाउँपालिकाको सिमानामा रहेको महिला अभियान्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवा बेंशी र गौडेनीको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक अभियान्ता योगमाया न्यौपानेको समाधिस्थल षडानन्द नगरपालिका १ स्थित मझुवा बेंशीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले साल्पासिलिंछौ १ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पुजाआजाका साथै औपचारिक कार्यक्रममा सहभागिहुने पनि जनाईएको छ । राष्ट्रपति भण्डारीले षडानन्द गुरुको जन्म स्थलमा गुरुको शालिक अनावरण गर्नुको साथै कैलाश डाँडामा रहेको गुरुकुल र विद्यालयको समेत अवलोकन गर्ने वताईएको छ ।

राष्ट्रपति भण्डारीकोे भ्रमणको तयारीको लागि षडानन्द नगरपालिका र साल्पासिंलिछों गाउँपालिकाका जनप्रतिनिधी भोजपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रतिनिधि, राष्ट्रपति कार्यालय सचिवालय प्रमुख सहितको टोलीले राष्ट्रपति भण्डारीले भ्रमण गर्ने स्थानहरुको प्रारम्भिक अवलोकन गरि कार्यक्रम र सुरक्षाका विषयमा छलफल समेत गरेको छ ।

यस अघि राष्ट्रपति भण्डारीले मंसिर २८मा समेत गृहजिल्लाको भ्रमण गर्नु भएको थियो । राष्ट्रपति भण्डारीले सो भ्रमणको अवसरमा आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका ५ आमबोटेमा बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्नुभएको थियो ।