
काठमाडौँ – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले स्थानीय तह, प्रदेश र संघीय गरी तीन तहका सरकार हुँदा पनि विकासका प्रयत्न परम्परागत रहेको बताएका छन् । उनले विकासका मोडल बनाएर, क्षमता आकलन गरेर अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् ।
शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्य कार्यक्रममा पालिका र पूर्वाधार विषयमाथि बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका विष्टले विकासको अभ्यास परिवर्तन गर्नुपर्ने बताए । संवैधानिक र कानुनी सीमाभित्र रही मौलिकतामा आधारित भएर विकास कसरी अगाडि लैजाने भन्ने सन्दर्भमा समस्या देखिन्छन् । हाम्रा विकासका प्रयत्न परम्परामा आधारित छन् । कुनै पनि पालिकाले आवधिक योजना निरमाण गर्ने र व्यवस्थागित गर्न सकिरहेको छैनन्ु उनले भने भौतिक पूर्वाधार होस् वा सामाजिक पूर्वाधारको सन्दर्भमा होस् हामीले सूचकांकमा आधारित भएर योजना तर्जुमा गर्ने प्रयत्नलाई केन्द्रित गर्न सकेनौं । त्यसो गर्न सकेनौं भने फेरि पनि हाम्रा विकासका प्रयत्न प्रभावकारी हुन सक्दैनन् । केवल चल्ते चलाते परम्परागत विकासमा अगाडि बढ्छौं ।
भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार निर्माणमा स्थानीय सरकारहरू कसरी अगाडि बढ्ने भन्ने यकिन हुनुपर्ने विष्टको भनाइ थियो । भौतिक पूर्वाधारभित्र पर्ने सडक, बिजुली, सिंचाइ, पीउने पानी, विमानस्थल, खेलमैदान र सामाजिक पूर्वाधारभित्र पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत सन्दर्भमा सरकार कसरी अगाडि बढिरहेका छन् भनेर हेर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहले पूर्वाधार निर्माणका लागि निश्चित विधि पालना गर्नुपर्छ, त्यसमा अहिले पनि केही समस्या देखिन्छन , उनले भने ।