
भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास तथा नगर उपप्रमुख प्रमिला राईले शिक्षाका ज्योति बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूती घोषणा गर्न पहल गरिदिन राष्ट्रपति विद्यानदेवि भण्डारी समक्ष आग्रह गर्नु भएको छ । भोजपुर भ्रमणमा आउनुभएकी भण्डारी समक्ष अधिकारीको योगदानको चर्चा गर्दै राष्ट्रिय विभूती घोषणा गर्न पहल गरिदिन आग्रह गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द र सामाजिक अभियन्ता योगमाया न्यौपानेको प्रतिमा अनावरण गर्नु भएको छ। गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट बालागुरुको जन्मघडेरी षडानन्द नगरपालिका ७ गढिगाउँमा प्रतिमा अनावरण गरिएको छ भने साल्पासिलोछो गाउँपालिका १ गौंडेनिस्थित पशुपति मन्दिरमा रहको योगमायाको प्रतिमा पनि अनवारण गरिएको हो । कार्यक्रममा प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायत उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताउनु भयो । भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउन बनाउन लागिएको योगमाया आधारभूत विद्यालयले उनीप्रतिको सम्मान हुने बताउनु भयो । त्यस्तै बालागुरु षडानन्दले जनस्तरबाट पहिलोपटक स्थापना गरेको विद्यालयले समाजसुधारको लागि महत्वपुर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
भोजपुरसंखुवासभाको सीमा नदि अरुणलाई आधार मानेर गरिने विकास निर्माणको लाभ भोजपुरबासीले पनि पाउने गरी सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा राष्ट्रपतिको जोड थियो । करिब ५ घण्टा भोजपुरमा विताउनुभएको भण्डारीले योगमायाको समाधिस्थल साथै बालागुरु षडानन्दको जन्म घर र दिङ्ला बजारमा रहेको षडानन्द सीताराम गुठीसमेत अवलोकन गरेकी गर्नुभयो।
कार्यक्रमकै बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको शिलान्यास गर्नुभएको छ । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास र साल्पासिलोछो गाउँपालिका अध्यक्ष दौलत कुलुङ्गले ऐतिहासिक स्थलको पूर्वाधार विकास र भोजपुरको दिङ्ला तथा साल्पासिलिछोको पर्यटकीय प्रबर्द्धनका सम्भावनासहितको खाका प्रस्तुत गर्नुभएको थियो ।