भोईस अफ नेपालकी जज प्रविसा अधिकारी र गायक कमल खत्री भोजपुर आउने

दिंला-नेपालको चर्चित रियालिटी गायन शो भोईस अफ नेपालकी निर्णायक तथा चर्चित गायिका प्रविशा अधिकारी र युवा पुस्ता माझ चर्चित गायक कमल खत्रीले भोजपुरमा प्रस्तुती दिने भएकाछन् । महाशिवरात्रीको अबसरमा फागुन ६ गते षडानन्द नगरपालिका १ स्थित योगमाया स्मृती कपको फाईनल खेल समापन सगै आयोजना हुने सांगितिक कार्यक्रममा अधिकारी र खत्रीका साथमा स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने आयोजक संस्था योगमाया खेलकुद विकास समितिका अध्यक्ष भुपाल कठेतले जानकारी दिए ।

अधिकारी पहिलो पटक भोजपुर आउन लागेकी हुन् । गायिका अधिकारीको भोईस अफ नेपाल सिजन ४ मा निर्णायकको जिम्मेवारी पाएर सफलतापूर्वक भुमिका पुरा गरेसँगै चर्चा थप चुलिएको छ । अधिकारीका हर युग…तिमी जे सुकै गर…फुल हैन…तिमिले छाडेपछि…लगायतका दर्जनौं गीत चर्चित छन् । गायक कमल खत्री भने भोजपुर नआएपनि भोजपुर र संखुवा सभाको सिमानामा रहेको मनकामनामा लाग्ने एकादशी मेलामा २ पटक आएर सांगितिक प्रस्तुति दिइसकेकाछन् । खत्रीका आत्मामा…म गीत हुँ…पहिलो माया…लगायतका दर्जनौं गीत हिट छन् ।