
दिंला-भोजपुरको उत्तरी दिंला बजारमा रहेको ईलाका प्रशासन कार्यालय दिंलामा ३ महिना देखि अधिकृत नहुँदा सर्वसाधारणले दुःख पाएको भन्दै राष्ट्रिय युवा संघ षडानन्द नगर कमिटी भोजपुरले ज्ञापन पत्र बुझाएको छ । षडानन्द नगरपालिका र ईलाका प्रशासन कार्यालयलाई युवा संघले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा ईलाका प्रशासन कार्यालयमा अधिकृतको व्यवस्थापन गरि चाँडो भन्दा सर्वसाधारणलाई नागरिकता, पासपोर्ट वनाउनको साथै अति आवश्यक सेवाहरु सहज ढंगवाट प्रदान गराईदिनको लागि माग राख्दै अनुरोध गरिएको छ । माग पुरा नभए आन्दोलित हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको उत्तरी क्षेत्र दिङलामा रहेको इलाका प्रशासन कार्यालयमा ३ महिनादेखि शाखा अधिकृत नहुँदा उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सेवाग्राही नागरिक सेवाबाट बञ्चित भएका छन् । शाखा अधिकृत नहुँदा स्थानीय नागरिकले नारिकता पाउन सकेका छैनन् भने प्रशासनकै कर्मचारीले ३ महिनादेखि कर्मचारीले तलब समेत पाएका छैनन् ।
यस क्षेत्रका नागरिकलाई नागरिकता बनाउनकै लागि दुई दिन हिँडेर जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता परेको छ । माघ पहिलो साता इलाका प्रशासन कार्यालयका शाखाका प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । इलाका प्रशासनको काम ठप्प बनेपछि सो कार्यालयबाट सेवा लिने सेवाग्राही भोजपुर पुगेर सेवा लिन बाध्य छन् ।
नेपालको संविधान भाग–२ धारा–१० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ, तर भोजपुरको साल्पासिलिछो र षडानन्द नगरपालिकाका नागरिकलाई इलाका प्रमुख नहुँदा नागरिकता पाउनबाट बञ्चित हुनु पर्ने अवस्था छ ।