
काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गत आज फाइनल खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) भिड्दैछन्।
एसीसी प्रिमियर कपको आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यूएई पनि आफ्नो परिचित प्रतिद्वन्दी नेपाललाई घरेलु मैदानमा नै हराएर एसिया कपको यात्रा तय गर्ने लक्ष्यमा रहनेछ।
एसीसी प्रमियर कपअन्तर्गत नेपालले समूह चरणका ४ खेलमघ्ये ३ खेलमा जित र एउटामा बराबरी खेलेको छ। यस्तै, सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाका कारण रद्ध भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनमा आधारमा फाइनल पुगेको थियो। यूएईले समूह चरणका ४ खेलमध्ये ३ मा जित र एउटामा हार बेहोरेको थियो। सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा २ रनले हराएर फाइनलमा स्थान बनाएको हो।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र यूएईबीच हालसम्म १३ वटा म्याच भएका छन्। जसमध्ये नेपाल ७ वटा खेलमा विजयी भएको छ। पछिल्लो पटकका ३ वटा म्याचमा नेपाल विजयी भएको छ। एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।
नेपाल र यूएईबीचको खेलमा वर्षा बाधक बन्ने सम्भावना पनि छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज ९सोमबार० देशै भरका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार वर्षाका कारण खेल हुन नसके मंगलबार रिजर्भ डे को व्यवस्था गरिएको छ। मंगलबार पनि वर्षाका कारण खेल हुने नसके २ सुपर ओभरबाट नतिजा निकाल्ने तयारी छ। सुपर ओभर पनि हुन नसकेको अवस्थामा ओडीआई वरीयतामा माथि हुने टोलीले उपाधि विजेता हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पछिल्लोपटक सार्वजनिक गरेको ओडीआई वरीयतामा नेपाल १४औं र यूएई १९औं स्थानमा छन्। खेल रद्ध भएर सुपर ओभर समेत हुन नसक्ने अवस्थामा नेपाल ओडीआई वरीयताका आधारमा प्रिमियर कपको विजेता हुँदै एसिया कपमा पुग्नेछ।