बजेट भाषणः बृद्धभत्ता बढेन, ४ हजार नै निरन्तर

काठमाडौँ- सरकारले यसवर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर रहने पाउने भएका छन् । ६८ वर्षमा सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो । आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बिनियोजन गरेको जानकारी दिए ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ । चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।