विश्व वातावरण दिवस: प्लास्टिकबाट हुने प्रदुषण कम गर्न युडब्ल्युएसको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

संखुवासभा २६ जेठ – युडब्ल्युएस नेपालको आयोजना तथा युडब्ल्युएस अन्तर्गत सञ्चालित विद्यालयहरुसंगको साझेदारीमा ‘प्लास्टिकजन्य प्रदुषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ जून ५ तारिखदेखि ९ तारिख सम्म सप्ताहव्यापी विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न भएको छ ।

संखुवासभा जिल्लाका ३३, गुल्मी जिल्लाका १५  र ताप्लेजुङ जिल्लाका ५ वटा गरी जम्मा ५३ वटा विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमहरुमा विद्यालय परिसर सरसफाइ गर्ने, वृक्षरोपण गर्ने,  बगैँचा निर्माण गर्ने कार्यका साथै प्लाष्टिकलाई कसरी कम प्रयोग र पुन:प्रयोग, प्लास्टिकका बोतल, चाउचाउ तथा चकलेटका खोलहरुलाई पुन: प्रयोग तथा सजावटका सामग्री निर्माणबारे विद्यार्थीहरुलाई जानकारी दिनुको साथै स्थानीय समुदायमा चेतनामूलक  र्याली र विद्यार्थीहरुबीच कविता गोष्ठी  तथा चित्रकला प्रतियोगिता सञ्चालन गरी सप्ताहव्यापी विश्व वातावरण सम्पन्न गरिएको युडब्ल्युएस नेपाल, संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिएका छन् ।

उक्त सप्ताहव्यापी कार्यक्रमले समाज र समुदायमा निकै राम्रो सकारात्मक भूमिका खेलेको र यसले वातावरण प्रदुषण रोक्नलाई महत्वपूर्ण भूमिका खेल्ने आशा रहेको गुल्मी जिल्ला, मालिका गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष रेख कुमार जिसीले बताएका छन् भने ताप्लेजुङ जिल्लामा रहेको युडब्ल्युएस लालीगुराँस विद्यालय कक्षा-८ मा अध्ययनरत छात्रा स्नेहा थेबेले प्लास्टिकजन्य फोहोरको उत्सर्जनले वातावरणमा पारेको प्रभाव र त्यसलाई न्यूनीकरण गर्न विद्यार्थीको भूमिकालाई समुदाय स्तरमा समेत प्रभावकारी गराउन सकिने सिकाइ आफूले सिक्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् ।

त्यस्तै विश्व वातावरण दिवसको अवसरमा युडब्ल्युएस नेपालको आयोजनामा सञ्चालित सप्ताहव्यापी कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमात्र नभई विद्यालयको सेवाक्षेत्रभित्र स्थानीय समुदायमा वातावरणीय सरसफाइको महत्वबारे जानकारी गराउने अवसर पाएकोमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. ३ मा रहेको युडब्ल्युएस हेदाङनागढीका प्रधानाध्यापक रण कुमार पराजुलीले खूशी व्यक्त गरेका  छन् ।