जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको समापनमा पुर्व पदाधिकारीलाई सम्मान

दिंला,२९ जेठ-

आईटीएफ तेक्वान्दोको उर्वर भुमि भोजपुरमा आयोजित जिल्ला स्तरीय अन्तर डोजाङ आई.टी.एफ.तेक्वान्दो प्रतियोगिताको समापनमा पुर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । भोजपुर आई.टी.एफ. तेक्वान्दो संघको आयोजना तथा षडानन्द नगरपालिका र वडा नम्वर ४ को प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको समापनको अवसरमा संघले सम्मान गरेको हो ।

आईतवार संघका पुर्व प्रशिक्षक रञ्जन वि.क., सचिव हरि भित्रिकाटी,कोषाध्यक्ष मान वहादुर खत्री र सदस्यहरु सुजन राई र श्री कृष्ण बोगटीलाई स्थापना कालदेखि लामो समय सम्म योगदानको कदर गर्दै भोजपुर आई.टी.एफ.ले सम्मान गरेको हो । कार्यक्रममा भोजपुरवाट प्रतिनिधित्व गर्दै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता विर बहादुर तामाङ्, रजत पदक विजेता सजिना तामाङ र कास्य पदक विजेता मिलन तामाङ् लाई षडानन्द नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

प्रतियोतिामा ८ गोल्ड मेडल प्राप्त गर्दै निगुरे डोजाङ प्रथम भएको छ। ६ स्वर्ण पदक प्राप्त गर्दै न्यू समिट बोर्डिङ डोजाङ द्धितीय हुँदा चिउरीबोटे डोजाङ तृतीय स्थानमा चित्त बुझाउनुपर्यो । महिला तर्फ २०–२५ केजी तौल समुहमा अजम्बरी राई, २५–३० केजी तौल समुहमा नीता राई, ३०–३५ केजी तौल समुहमा रक्षा तामाङ, ४५–५० केजी तौल समुहमा दिलमाया तामाङ, ५५–६० केजी तौल समुहमा सपना राई, ६०–६५ केजी तौल समुहमा सम्भिका गुरुङ र ६५ प्लसमा अम्भिका तामाङले गोल्ड मेडल हासिल गरे भने पुरुष तर्फ सुन्दर गुरुङले ६०–६५ केजी तौल समुहमा स्वर्ण पद प्राप्त गर्दै निगुरे डोजाङलाई प्रथम बनाउन सफल भए ।

महिला तर्फ ३५–४० केजी तौल समुहमा प्रनिका गुरुङ, ४०–४५ केजी तौल समुहमा तानीया राई, पुरुष तर्फ ३०–३५ केजी तौल समुहमा प्रमेश राई, २५–३० केजी तौल समुहमा दिवस हिङमाङ साथै ग्रुप प्याटन तर्फ महिला र पुरुष तर्फ स्वर्ण पदक प्राप्त गर्दै ६ स्वर्ण सहित द्वितीय हुन सफल भएका हुन् ।

त्यस्तै पुरुषतर्फ २०–२५ केजी तौल समुहमा अमृत कडेल, ४०–४५ केजी तौल समुहमा जेम्स राई, ४५–५० केजी तौल समुहमा शिव बस्नेत र ५५–६० केजी तौल समुहमा नविन राईले स्वर्ण पदक प्राप्त गर्दै चिउरीबोटे डोजाङ तृतीय भएको हो ।

साथै दिङ्ला डोजाङ २ गोल्ड मेडल प्राप्त गर्दै सान्त्रवना भएको हो । ५०–५५ केजी तौल समुहमा अजित तामाङ र ३०–३५ केजी तौल समुहमा सचिन राईले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

साथै न्यू समिट बोर्डिङ ५ रजत, निगुरे ३, दिङ्ला ३ मेडल जित्न सफल भएको छ । निगुरे डोजाङले ५ कास्य, न्यू समिट डोजाङ् ८ कास्य, दिङ्ला ४ र चिउरीबोटे १ कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा भोजपुरका ५ वटा डोजाङको सहभागिता रहेको थियो । प्रतियोगितामा दिंला, केउरेनीपानी, न्युसमिट, चिउरीवोटे र निगुरे डोजाङका ८२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । षडानन्द नगरपालिका ४ स्थित दिंला कभर्डहलमा सञ्चालन भएको प्रतियोगितामा ९ ईभेण्ट र ग्रुप प्याटनमा समेत प्रतिष्पर्धा भएको थियो ।

भोजपुरले आईटीएफ तेक्वान्दोमा प्रदेश १ का साथै राष्ट्रिय प्रतियोगितामा समेत दवदवा कायम गर्दै आएको छ । भोजपुरमा आईटीएफ तेक्वान्दो बालवालिका तथा युवाहरुलाई दुव्र्यसनवाट मुक्त गराउनुको साथै अनुशासित वनाउनको लागि शुरु गरिएको भोजपुर आई.टी.एफ. तेक्वान्दो संघका अध्यक्ष सुरेस राईले वताए । यस प्रतियोगितावाट प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनेपनि अध्यक्ष राईको दावी छ।

प्रतियोगितामा सम्वोधन गर्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास तथा उपप्रमुख प्रमिला राईले षडानन्द नगरपालिकाको ईज्जत राख्न सफल भोजपुर आई.टी.एफ. तेक्वान्दोलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।