भोजपुरे गायक गंगा वरदान: राष्ट्रपति पौडेलसमेत उनका फ्यान

धरान- ‘छपनीले छान छान…, डबकीले हान…’ यो गीत नसुन्ने नेपाली कमै होलान । हो ! साँच्चैने आफ्ना अर्ग्र्यानिक गीत संगीतका कारण गायक गंगा बरदान हरेक नेपाली गीत संगीतलाई मायागर्नेहरुको मन मस्तिष्कमा वस्न सफल भएका छन् ।

भोजपुरको षडानन्द नगरपालिका ४ स्थित ऐतिहाँसिक दिङ्ला बजारमा जन्मिएका गंगा बरदान केहि वर्षदेखि धरान–१४ मा बसिरहेका छन् । धरानमा उनको आफ्नै घर भने छैन । उनि केहि बर्षदेखि भाडा तिरेर बसिरहेकाहुन् ।

उमेरले ७० वर्ष नाघेका गंगा वरदानका चार वटा आधिकारिक एल्बममार्फत् २८ वटा गीत र क्यासेट रेकर्डेड छन् । क्यासेट बिनाको अन्य एक दर्जन जति गीत छन् ।

उनले गाउने हरेक गीत उनी आफैं लेख्छन् । उनले पहिलो पटक कहाँमा काट्यो बेतको लौरी बोलको गीत रेकर्ड गराएका हुन् । त्यसपछि ‘छपनीले छान, डबकीले हान’ जस्ता बहुचर्चित गीत रेकर्ड गराए ।

‘छपनीले छान’ गीतले उनलाई देशभर चिनायो । किनकि उनको गीतमा नेपालीपन थियो, नेपाली भाव थियो । अर्थात् अग्र्यानिक नेपाली शब्दरचना थियो ।

कतिपयले उनलाई जाँड रक्सीको विषयमा गीत गाएको भन्छन् । तर, त्यसको प्रयोग, उपयोगको कुरा महत्वपूर्ण हो । भन्छन्, ‘खाएपछि इमोसनल खालका मानिसहरुले अलिक रमाइलो गर्न खोज्छन् । तर, गीतले नेपालीपन बोलेको छ । नेपाली माटो बोलेको छ’ ।

युवा त भइ नै हाले, केटाकेटी, बूढाबूढीले पनि गंगा वरदानलाई भेटे भने सेल्फी हान्छन् र सोध्छन्, ‘तपाई नै होइन, छपनीले छान, डबकीले हान गीत गाउने ?’ उनलाई त्यतिबेला धेरै खुसी लाग्छ ।

दरबारबाट अफर

उनले अवसर नपाएका पनि होइनन् । तर, लोभमा कहिल्यै परेनन् । उनी तीन पटक दरबार गएर आफ्नो प्रस्तुति दिएको बताउँछन् । रविन चक्रवर्तीले उनलाई दरबारमा पहिलो पटक लगेका थिए । राजा वीरेन्द्रको पालामा ०४२ सालमा पहिलो पटक, ०५५ सालमा दोस्रो पटक र ज्ञानेन्द्र शाहको पालामा ५९ सालमा तेस्रो पटक दरबारभित्रै उनले प्रस्तुति दिए ।

एकपटक प्रस्तुति दिन गएको बेला दरबारबाट आफूलाई अफर आएको कुरा सुनाए, ‘मलाई दरबारका मुख्य मान्छेले भोलिदेखि दरबारमा बस्नुपर्छ । काठमाडौंमा के गर्नुपर्छ, म व्यवस्थापन गरिदिन्छु भनेर भने । म मन्त्री पनि हुन सक्थें । तर, मैले वास्तै गरिन । त्यो साँगुरो घेरा मलाई मनै परेन ।’

गीतले पर्यटन प्रवर्द्धनमा टेवा

आफ्नो गीत रचनाले देशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको उनको जिकिर छ । ‘आजसम्म मैले गीत रचनामार्फत् धरानदेखि हङकङसम्मको वर्णन गरेको छु,’ वरदान भन्छन्, ‘अहिले पनि विभिन्न कार्यक्रमहरूमा निमन्त्रणा आउँछन् ।’

भर्खरै पोखराको कार्यक्रममा उनी सहभागी भए । उनको जीविकोपार्जनको आधार पनि यही हो । उनी भन्छन्, ‘आम्दानीको कुनै ठेगान छैन । राज्यबाट पाएको सामाजिक सुरक्षा भत्ता मात्रै हो ।’

नियमित आम्दानी नहुँदा उनलाई समस्या छ । तर, केही वास्ता गर्दैनन् । ‘मलाई जहाँ गए पनि मानिसहरूले सहयोग गरिरहेका छन् । सबैतिर हेलो हाइ छ । यो नै ठीक छ, म बाँचेको छु’, वरदान भन्छन् ।

जवानीमा माया जालमा परेनन्

२०३१ सालमा उनी २०–२२ वर्षका लक्का जवान थिए । तर, उनी माया जालमा परेनन् । आफ्नै कर्ममा लागिरहे । उनी ५५ वर्षको हुँदा मात्रै विवाह गरे । मैले हिरोइन, सुन्दरीहरु देख्थें । तर, कहिल्यै त्यतातिर मन गएन । किनकि एभरेजमा मसँग सुहाउँदो जोडी देखिन । सायद मैले खोजी नगरेर पनि होला,’ भन्छन्, ‘वास्तवमा म स्वतन्त्रता चाहने मान्छे हो ।’

ढल्दो उमेरको विवाह पछिको जिन्दगी कस्तो छ त ? ‘श्रीमतीसँग म प्रायः सँगै हुन्छु । म केही सोच्दिन, तनाव लिन्न । कतिपयले सुझाउँछन्, तपाई युट्यूब खोलेर एक्सन मात्रै दिनु,’ उनले भने, ‘मलाई थाहा छ । मसँग राम्रो राम्रो कविता पनि छ, म कवि पनि हुँ ।’ सन् २००२ मा उनले एउटा कविता संग्रह पनि प्रकाशित गरेका छन् ।

तर, उनलाई युट्यूब खोल्न जाँगर छैन । संगीत क्षेत्रमा नाम नै मुख्य कुरा रहेको उनको भनाइ छ । ‘चर्चा मलाई अब पर्याप्त भयो, यही काफी छ,’ वरदानले भने, ‘रमाइलो पल त मैले बिताइ सकें । मलाई बोलाएको बेलामा तक्मा मात्रै थाप्न गएको भए मेरो छातीभरी तक्मा मात्रै हुनेथियो ।’ जवानीमा त सतही चर्चामा आइएन, बूढ्यौलीमा झन् मन छैन उनलाई ।

मेरो काखमा आउ न कान्छी, म खुसी हुन्छु भन्ने खालका शब्दहरुमा अहिले गीत बनिरहेको अनि पुरस्कृत पनि भइरहेको देख्दा उनलाई दिक्क लाग्छ । कल्ले किन्दियो नाकको फुली, कल्ले किन्दियो स्कुटी, कस्ले च्यात्यो गलबन्दी भनेर गीत आइरहेको छ । उनको खरो सोधाइ छ, ‘यस्तो पनि गीत हुन्छ ?’

गीतसंगीतमा संस्कृति जोगाउने, राष्ट्रको वर्णन भएको कम आएको उनको अनुभव छ । ‘देवीदेउता, खोलानाला, सगरमाथा, प्रकृति, हरियाली चौताराको वर्णन गंगा वरदानले गरिरहेको छ । यसमा मलाई घमण्डी भने हुन्छ,’ उनले भने ।

राज्यले सायद गंगा वरदान चिन्दैन होला । चिने पनि उहाँहरुको ध्याउन्न आफ्नै होला । नेपालको राजनीति यस्तै हो । अरु भए परिचय भजाएर गाडी चढेर शानले फलाना, फलाना भन्दै राष्ट्रपति, प्रधानमन्त्रीसम्म जान्थे होलान । के के गरिसक्थे होला । तर, आफूलाई त्यसो गर्न कहिल्यै मन नपरेको उनको जिकिर छ ।

उनले गर्वसाथ सुनाए, ‘पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मेरो फ्यान, राष्ट्रपति रामचन्द्र पौडेल मेरो फ्यान ।’ देउवाको तेस्रो प्रधानमन्त्रीको कार्यकाल सकिएपछि मध्यपश्चिमको टुरबाट फर्किदा लेखनाथ नगरपालिकामा उनको कार्यक्रम थियो, उनले त्यो प्रसंगमा सुनाएको गीतको भाका हालेः

माछापुच्छ्रे हिमालको शिर

फेवा ताल जमेको

पश्चिमको याद आउँछ

पोखरा घुमेको

रुपाताल, बेगनास तालमा मनै भुलेको…

राष्ट्रपति रामचन्द्र पौडेलले २०४२ सालमा आफ्नो गीत सुनेर फ्यान भएको उनले सुनाएः

मुग्लिन, सेती…नदीको छेकार

हेर्न मन लाग्छ, जाऔं न दमौली बजार

भानुभक्त जन्मिएका चुँदी रम्घा गाउँ

नेपालीको आँखा खोल्न पुगे संसार

परासर, मार्कण्डेय…

वेद लेख्ने व्यास जी पनि यही जन्मेका

स्वर्ग, मत्र्य, आकाश, पाताल चराचर छिपेका…

यो गीत गाएपछि रामचन्द्र पौडेलले उनको खुलेर प्रशंसा गरेको उनी सम्झिन्छन् । त्यसबेला उनले भनेका थिए, ‘तपाईंजस्तै कलाकारहरुका लागि, लोकतन्त्रको लागि लड्दैछौं ।’

दिङ्लामा २००९ सालमा जन्मिएका उनले त्यही शिक्षा दीक्षा हासिल गरे । षडानन्द नगरपालिका ७ मा रहेको अरुण माविबाट एसएलसी गरे । उनले १६ वर्षको युवावस्थामा सहरतिर जान पखेटा फर्फराए । उनी विराटनगर, धरान, काठमाडौंदेखि भारतको नागाल्याण्ड, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा केही वर्ष बसे । गीतसंगीतमा माया बसेपछि पढाइमा रस बसेन ।

लामो जट्टाधारी कपाल, उस्तै दाह्री जुंगा । गंगा वरदानको सदाबहार गेटअप हो । उनलाई युवा पुस्ताले जमैकन चर्चित गायक बब मार्ली सँग पनि तुलना गर्ने गर्छन् ।उमेरले ७० वर्ष टेकेका उनको शरीरका छाला चाउरी पर्न थालेका छन् । तर, हाउभाउ र कुराकानी युवाको जस्तो जोशिला, रसिला छन् । उनीजस्ता स्रष्टालाई राज्यले किन चिन्न नसकेको होला ?