
काठमाडौँ । भोजपुर र झापाबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति र शुक्रवार बिहान गरेको अप्रेसनमार्फत २० जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।
त्यस्तै बिहीबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटेल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट नगद १३ हजार ४० रुपैयाँ र १ बुक तास बरामद भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।