षडानन्द- ७ मा विद्यालय भवनको शिलान्यास

दिङ्ला- षडानन्द नगरपालिका ७ मा सिंह बाहिनी प्राथमिक विद्यालय भवनको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास, उप प्रमुख प्रमिला राई र प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँले संयुक्त रुपमा मंगलवार भवनको शिलान्यास गरेकाहुन् ।

युनाईटेड वल्र्ड स्कुल (युडब्लुएस) , षडानन्द नगरपालिका र समुदायको त्रिपक्षीय साझेदारीमा निर्माण हुने भवन ८ कोठे हुने षडानन्द नगरपालिका वडानम्वर ७ का वडाध्यक्ष दिपेश विष्टले जानकारी दिए । भवन त्रिपक्षीय साँझेदारीमा निर्माण हुने वताईएको छ । भवन निर्माणका लागि काठ र ढुंगा समुदायले, बालुवा र गिटी नगरपालिकाले र मिस्त्रि, रड, सिमेण्ट र छानोको व्यवस्था गरि युडब्लुएस नामक गैह्रसरकारी संस्थाले निर्माण गर्ने नगर प्रमुख उदासले जानकारी दिए ।

नगर प्रमुख उदासले विद्यालय भवन निर्माणको योजना मात्र नभएर यस कार्यक्रमले शिक्षकलाई तालिम दिनका साथै अभिभावकलाई जिम्वेवार वनाएर शैक्षिक गुणस्तरमा सुधार आउने वताए । नगर उप प्रमुख राईले शैक्षिक गुणस्तर उकास्न भौतिक पुर्वाधारको समेत महत्वपूर्ण भुमिका हुने वताईन् । विद्यालय भवन निर्माण भईसकेपछि यस क्षेत्रको शैक्षिक विकासमा सहयोग पुग्ने विचार व्यक्त गरिन् ।

पुरानो विद्यालय भवन जीर्ण भएका कारण शिक्षण सिकाई क्रियाकलापमा कठिनाई परेको विद्यालयका प्रद्यानाध्यापक भीम वहादुर श्रेष्ठले वताए । नयाँ विद्यालय भवन निर्माण हुने भएपछि स्थानिय विद्यार्थी तथा अभिभावक उत्साहित भएको प्रअ श्रेष्ठको भनाई छ ।