भोजपुरमा २१ बर्षपछि पक्राउ परे हत्या आरोपी

भोजपुरमा हत्या भएको २१ वर्षपछि प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले भोजपुरले २०५९ माघ २४ गते राति भएको हत्याका दुई आरोपितलाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए।

त्यसराति टेम्केमैयुङ गाउँपालिका(४ का भक्तबहादुर राईको हत्या भएको थियो। चिरपट र घरेलु हतियारले प्रहार गरी राईको हत्या भएको थियो। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने प्रश्नजंग राई र ५८ वर्षीय सौरज भन्ने सौ राज राईलाई पक्राउ गरेको छ। उनीहरू दुबै जनालाई प्रहरीले सोमबार पक्राउ गरेको डिएसपी पाठकले बताए।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतबाट गत वर्ष माघ १५ गते पक्राउ अनुमति लिएको थियो। तर उनीहरू पक्राउ परेका थिएनन्। यसरी लामो समय पक्राउ नपरेपछि हद म्यादको समेत प्रश्‍न उठेको थियो। त्यसपछि प्रहरीले काठमाडौंस्थित महान्यायाधिवक्ता कार्यालयमा सुझाव लिएको डिएसपी पाठकले बताए।

‘हदम्यादका विषय आएपछि हामीले महान्यायाधिवक्ता कार्यालयमा सम्पर्क गरेका थियौं। त्यहाँबाट यसमा प्रक्रिया अघि बढाउन मिल्छ भन्ने भएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने।

उनका अनुसार पूर्व रिसिइबीका कारण प्रश्नजंगसहितको समूहले भक्तबहादुरको हत्या गरेका हुन्। यसमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाइसकेको छ। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय भोजपुरले लामो समय अघि घटना भई मुद्दामा पक्राउ पर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ।