षडानन्द नगरपालिकाका १ सय १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

दिङ्ला – षडानन्द नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले आफ्नै गाउँघर तथा वडामा अपाङ्गताको परिचयपत्र पाएका छन् । भौगोलिक रुपमा विकट र शारीरिक रुपमा असक्त भएर परिचय पत्र लिन नसकेका १ सय १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँघरमै पुगेर परिचयपत्र वितरण गरिएको हो । गत फागुन २७ गते षडानन्द नगरपालिका वडा नं १४ वोयाबाट सुरु भएको शिविर चैत १ गते वडा नं ७ को गान्धि अस्पताल भवनमा सम्पन्न भएको हो ।

जसमध्ये क वर्गको रातो कार्ड १३ जना , ख वर्गको निलो कार्ड ३७ जना, ग वर्गको पहेलो कार्ड ३९ जना र घ वर्षको सेतो कार्ड २८ जनालाई वितरण गरिएको छ । शिविरमा २ सय २० जना नागरिकहरुले आफ्नो स्वास्थ्यको चेकजाँच गरेका थिए ।

षडानन्द नगरपालिकाको अपाङगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७६ बमोजिम पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र साधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईँले बताए। आँखा, कान, नसा र जेनेरल फिजिसियन सहितको चिकित्सकको टोलिले अपाङगता भएका व्यक्तिहरुको पायक पर्ने स्थान र घरमै समेत पुगेर सेवा दिइएको चापागाईँले बताए। मेडिकल अधिकृतसहितको टोली गाउँमै
पुगेर परिचयपत्र वितरण गर्दा स्थानीय समुदाय खुशी भएको उनको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत चापागाईँका अनुसार अपांगता परिचय पत्रका आधारमा रातो परिचय पत्र हुनेले मासिक ३ हजार ९ सय ९० र निलो परिचय पत्र हुनेले मासिक २ हजार १ सय २८ रुपैँया सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउने छन् ।

अपाङ्ता भएका व्यक्तिहरुको हक र अधिकार सुनिश्चित गरि विभिन्न सरकारी तथा अन्य क्षेत्रबाट प्रदान हुने सेवा र सुविधामा पहुँच पुर्याउने उद्देश्यले शिविर
आयोजना गरिएको अपाङगता भएका व्यक्तिको परिचयपत्र वितरण समितिका संयोजक तथा नगर उपप्रमुख प्रमिला राईले बताईन । उनले समाजमा अपाङताप्रतिको हेयभाव हटाउन र सहज जीवनयापनको व्यवस्था मिलाउन स्थानीय सरकार लागि परेको बताउईन । उनले रातो र निलो कार्ड हुने अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउने भइपनि पहेंलो र सेतो परिचय पत्र पाउने अपांगता भएकाहरुलाई सिपमूलक तालिम प्रदान गरी आयआर्जन कार्यक्रम अगाडि बढाउन षडाननद नगरपालिका
लागि परेको बताईन ।

जनगणाना २०७८ को तथ्याङक अनुसार षडानन्द नगरपालिकामा ८ सय जना कुनै न कुनै अपाङगता भएका व्यक्तिहरु रहेको षडानन्द नगरपालिका सामाजिक विकास शाखाका शाखा प्रमुख बाबुराम बास्तोलाले बताए । नगरपालिकामा यतिको संख्यामा अपाङ्गता भएका व्यक्तिहरु हुदाँहुदै पनि स्थानीय सरकारको तथ्याङकमा भने संख्या नदेखिएकाले अपाङगता भएका व्यक्तिहरुलाई पहिचान गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बताए। उनका अनुसार षडानन्द नगरपालिकामा जनगणनाको तथ्याङक र पालिकाको तथ्याङक अब मिलेको समेत जानकारी दिए । शिविरमा करुणा फाउन्डेसन नेपालले प्राविधिक सहयोग गरेको थियो ।