अरुण नदिको अवरुद्ध फेरी सञ्चालनमा आयो

भोजपुरको उत्तरी क्षेत्रलाई तराई सँग सिधा जोड्ने षडानन्द नगरपालिका ६ र खाँदबारी नगरपालिका ९ सतिघाटस्थित अरुण नदीको फेरी सञ्चालनमा आएको छ । अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा भोजपुरको उत्तरी क्षेत्रका यात्रुहरु आवतजावतमा खेप्नु परेको थियो ।

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि सञ्चालनमा आएको उनले बताए ।

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि भोजपुरका उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ ।

पानीको सतह कम भएको कारण नदिको बिच सम्म वालुवा थुप्रीएको त्यसले फेरि वालुवामा धसिइ लोड पर्ने भएकोले वालुवा हटाउने र भोलि ठूला मालवाहक साधन सहित परिक्षण गरिने र सफल भएमा नियमित सुचारु गरिने नगर प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढि साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।