सामाजिक संरचनाको संरक्षकत्व नारी- प्रमिला राई

प्रमिला राई

यो २१ औं शब्तादीको नारी जति एडभान्स छन् उति नै नराम्रो कामको शिकार बन्दै गईरहेको छ । सामाजिक रुपमा सबैभन्दा भन्दा पहिलो जिम्मेवारपुर्ण ठेक्का लिएका नारीहरु आज विभिन्न खालका समस्याहरुका कारण अग्रणी भुमिका देखिन सकिरहेका छैनन् । राज्यको माथिल्लो निकायमा देखिएका केही नारीहरु जसले दुई शब्दको भाषणले आम नारीप्रति न्याय दिन सकिरहेका छैनन् ।
वास्तविक धरातलमा पाउ टेकेर नारी उभिने हो भने गिद्दे नजरका जो नालायक छोराहरू छन् । यि सबै नालायकहरु फोहोर फाल्ने डस्बिनमा थुप्रिने छन् । चुलोमा आगो फुकिरहेका नारीले राष्ट्र विकासको नारा पनि फुक्न सक्छ भन्ने हेक्का नभएका पुरुषहरुले यो कुरा बुझ्न जरुरी छ कि महिलाले अवसर पाए । जातो घुमाउने सक्ने पाखुराले देशलाई ड्राइभिङ गर्न सक्छन ।

नारी भनेको वर्तमानका सौर्न्दर्यवान सुन्दरी मात्र होइनन् । संसारको मानव सृष्टिको आमा पनि हुन । नारी श्रीमानको जिवनसाथी मात्र होइनन् , समाजका सौन्दर्य पनि हुन् । हाम्रो देशमा सदियौं देखिको पुरुष नेतृत्व समाजलाई पुर्णविराम लगाई नारी शक्ति स्थापित हुँदै गर्दा देशको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख हुँदै विभिन्न माथिल्लो तहसम्म पहुँच राख्न सफल भए । तर महिलाको विकास र सचेतनामा भने कालो बादल नै घुमि रह्यो । देश एक स्वतन्त्रता मुलुक नामले चिनिदै गर्दा महिलालाई दमनकारी व्यबहार बढ्दै गयो ।

नारी वा महिला आफ्नो श्रीमानको अोछ्यानलाई न्यानो पार्नका लागि मात्र होइन । भावी सन्ततिको निम्ति असल बाटो निर्माण गर्दै देशलाई नै टेवा पुग्ने काम गर्नका पनि हुन् ।

हाल हरेक स्थानीय निकायमा एक महिला प्रतिनिधि रहेका छन् तर काला अक्षर भैसी बराबर भनेझै भएका महिलाहरुको उपस्थिति औपचारिकता पूरा गर्न मात्र जस्तो देखिएको छ । देशको विकासमा महिलाको भुमिका अमूल्य छ भन्दै हिड्ने नालायक नेताहरुनै महिलालाई घरमा गुम्साएर राख्दै आईरहेका छन् । महिलाको निम्ति अनेकौं पटक अनेकौं तरिका कानुन संशोधन गरि नीति नियम निर्माण गरिने काम भएको छ । तर त्यसको परिणाम खोईत ?
के यी नै हुन् कानुन बनेको परिणाम ?
१. दिनानुदिन बलात्कारको घट्ना हुनु ।
२. घरेलु हिंसामा महिला नै पर्नु ।
३. बोक्सीको आरोपमा कुटिनु , दुर्व्यवहार हुनु ।
४. महिलाले भाषण गरे पोथी बासेको हुनु ।
५. छोरा जन्माउन नसक्दा पिटिनु ।
६. दाइजो नमिल्ला घर निकाला हुनु ।
७. मानव बेचबिखनमा परिरहनु, न्याय नपाउनु ।
८. बैदेशिक रोजगारीलाई हिसां गरिनु ।
९. श्रीमानसगँ अलग भएर बस्दा वा हिड्दा नक्कल पारेको हुनु ।
के यहि समानुपातिक सामाजिक समानता ? यो देशमा महिलाको अधिकार र सुरक्षाका निम्ति दर्जनौं संघसंस्थाहरु नभएका होइनन् । महिला विशेष नीति, कार्यक्रम , योजना र मन्त्रालय नभएका होइनन् । महिला अधिकारको निम्ति बोल्ने सरोकारवाला निकायको नाम नसुनिने पनि हैन । तर यस्तो निकाय नेपालको दुरदराजमा बसेका महिला हिंसामा पर्दा कहाँ जान्छ ? सरकारी बजेट निकासा हुनेबेला तछाडमछाड गर्ने अनि दायित्वबाट पन्छिने आखिर कहिले सम्म?
अन्तर्राष्ट्रिय जगतमा महिलाको पहुँच र नेपाली समाजमा महिला पहुँचलाई मुल्यांकन गर्ने हो भने नेपाली महिला घरको कुकुर भएर बाधिएका छन् भन्दा फरक पर्दैन । हुन त सबै देशहरुमा महिलालाई अधिकार प्रायोजनका लागि विशेष कानुन नभएतापनि कानुन भएका देशका महिलालाई हेर्ने हो भने सक्षम मात्र छैनन् । देशको उच्च पदमा रहि देशलाई नै नमुना योग्य समेत बनाउदै लगिरहेको छ ।

नेपालमा केही पटक कानुन संशोधन हुदा आमाको नामबाट नागरिकता पाउने भयो । उति बेला यो देशका निकै ठुल्ठुला पुरुषहरु नै डराए । मुख लरबराउदै सहमति गरे र हात कमाउदै हस्ताक्षर समेत गरे । त्यसले के स्पष्ट हुन्छ भने महिलालाई अधिकार सम्पन्न बनाउन कहलिएका पुरुषमा नै भुकम्प चल्छ । हाल आएर महिलाले बाबा बिना नै सन्तान उत्पादन गर्ने पाउने भन्ने कानुन निर्माण हुँदै गर्दा महिलालाई अत्याचार गर्दै वेपत्ता भईदिने पुरुष निकै हर्षित भएको पाईयो । तर यसले दुवै पक्षलाई बचाउ दिन्छ कि भन्ने त्रास उत्पन्न भएको छ ।

नेपालको विभिन्न भुभाग जहाँ हरेक क्षेत्रबाट सुविधामा वञ्चित छन् त्यस्ता ठाउहरुमा भन्दा कहि गुणा देशको मुख्य शहरमा महिला हिंसाको घट्नाका बारेमा सामाजिक सञ्जाल , पत्रपत्रिका र टेलिभिजनहरुमा पढ्न र देख्न पाईन्छ । यसले के स्पष्ट पार्छ भने महिला हिसां अशिक्षाका कारण भईरहेको छैन । यहाँ त जानीजानी महिलामाथि दमन अत्याचार भईरहेको छ । कोक्रो नानी देखि बुढेसकालमा लागेका महिलाहरु समेत बलात्कारको घट्नामा मुछिएका छन् । यो सामाजिक दुर्ब्यवहारको श्रेय तिनै पुरुषलाई जान्छ जो यो समाजको अग्रणी भुमिका देखिगरेको छ ।

महिला हिसांलाई हिजो रोक्न सकिएन त के भो ! आजबाट त्यसलाई निरुत्साहित पार्न सकिन्छ । समाजबाट मात्र होइन नेपाली शब्दकोषबाट महिला हिंसा भन्ने शब्दलाई विस्थापित गर्न सकिन्छ । तर हामीमा भएको चेतनालाई ब्युझाउनु छ । हामीमा भएको शक्ति लाई हाम्रै समाजमा स्थापित गराउनु छ । तर कसरी प्रश्न पनि त उठ्न सक्छ !

महिला हिंसा यो देशको एउटा जटिल समस्या हो । यसको निरुपणको निम्ति अनेकौं प्रयास पनि भएको छ । तर कानुनी व्यवस्थालाई कार्यनयन नल्याएर त होइन । किन यसको बारेमा सरोकारवालाको ध्यान पुग्दैन । कानुन संरक्षकको रुपमा रहेको सरकारी तवरका मानिसबाटै पनि यस्ता हिंसा भएको सुनिन्छ । के यो कानुन प्रतिको बेईमानी होइन । आज हजारौं परिवार विस्थापित हुन पुगेको छ । हजारौं छोराछोरीको खुशी लुटिएको छ । आज हजारौं समाजको सुगन्ध खल्बलिएको छ । कारण महिलालाई बनाउने तर त्यसको जिम्मा लिन नसक्ने कस्तो मेरो समाज अनि कस्तो मेरो देशको कानुन ?

आज मलाई निकै कराएर भन्न मन छ महिलाको निम्ति भनेर लेखिएको कानुन खै कहाँ छ ? हुनेखाने र बोल्न सक्नेलाई कानुन नुन खाए झै हुने अनि महिला चुप लागेर बस्छ भन्दैमा मनलागि गर्ने । अब मैले मात्र पनि बोलेर हुन्न । समाजको परिवर्तन गर्नुछ त सबै मिल्नुपर्छ । कमिलाले आफ्नो आहाराको व्यवस्था मिलाउन जसरी सबै मिल्छ त्यसरी नै यो समाजमा महिलाको साहारा मिलाउनु पनि सबै महिला एकीकृत हुन जरुरत छ ।

हामी महिलाहरु सकेसम्म अर्काको नै कुरा काटेर दिन बिताउने नामले चिनिन्छौ तर किन परिवर्तन गर्दैनौ हामीले हाम्रो पहिचान । कि परिवर्तन गर्देनौ हामीले हाम्रो बोलचालीको भाषालाई । आफ्ना बुढाको गुणगान गाएर दिनभरि घाम तापेर बिताउने समयमा किन गर्दैनौं हामीले सुधार गर्नुपर्ने कुराहरूको बारेमा बहस ?

मैले यति भन्दैमा सबैले दिमागमा सकारात्मक विचारको पैदा गराउनु हुन्छ भन्ने ग्यारेन्टी छैन । तर के ग्यारेन्टी छ भने हामी यसरी नै समयको पाउबन्दीलाई नबुझी हिडिरह्यौं भने अबको केही शब्तादीका नारीले समेत यो समाजको दमनकारी ब्यवहार चुपचाप सहिरहनु पर्ने हुन्छ ।